
२२ असार, महोत्तरी , मिथलेश महतो ।
महोत्तरीको मनराशिसवा नगरपालिकाका नगर प्रमुख श्री मोहन पाण्डेयज्यू र AO Alliance Asia Steering Committee का अध्यक्ष प्रो. रमेश प्रसाद सिंहज्यूबीच आज एक औपचारिक सम्झौता पत्र (MoU) मा हस्ताक्षर गरिएको छ।
नगरपालिका परिसरमै आयोजित एक कार्यक्रममार्फत उक्त सम्झौता सम्पन्न भएको हो। सम्झौतामा हस्ताक्षर गर्दै दुवै पक्षले नगरवासीहरूलाई सहज, सुलभ र गुणस्तरीय हाडजोर्नी (Orthopaedic) उपचार तथा परीक्षण सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
यस सहकार्यमार्फत AO Alliance Asia को प्राविधिक तथा विशेषज्ञ सहयोगमा नगर क्षेत्रका स्वास्थ्य संस्थाहरूमा अत्याधुनिक हाडजोर्नी सेवा विस्तार गरिनेछ।
नगर प्रमुख श्री मोहन पाण्डेयज्यूले भन्नुभयो, “सामान्य जनताको स्वास्थ्य सुविधामा पहुँच सुनिश्चित गर्न हामी निरन्तर क्रियाशील छौं। यो सम्झौता नगरवासीहरूका लागि एक महत्वपूर्ण उपलब्धि हुनेछ।”
प्रो. रमेश प्रसाद सिंहज्यूले AO Alliance Asia को तर्फबाट स्थानीय तहसँग सहकार्य गर्दै नेपालको ग्रामीण तथा अर्ध-शहरी क्षेत्रमा हाडजोर्नी सेवाको पहुँच विस्तार गर्ने उद्देश्य स्पष्ट पार्नुभयो।
समारोहमा नगरपालिका पदाधिकारी, स्वास्थ्यकर्मी, तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। MoU कार्यान्वयनसँगै मनराशिसवामा स्वास्थ्य सेवा अझ प्रभावकारी हुने विश्वास लिइएको छ।