जीवनराज दाहाल : १९ असार, बर्दिवास –
विद्यार्थीको उज्यालो भविष्य निर्माणमा समर्पित पदम-शमशेर स्मृति प्रतिष्ठानले छात्रवृत्तिको दायरालाई थप विस्तार गरेको छ । ३२ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरिसकेको प्रतिष्ठानले अबबाट कक्षा ११/१२ सञ्चालन हुने १७ विद्यालयका विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
अध्यक्ष विष्णु खड्का नेतृत्वमा सञ्चालित प्रतिष्ठानले यसअघि प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई प्राथमिकता दिँदै आएको थियो । अब भने ११/१२ कक्षा र क्याम्पस तहका छात्रछात्रालाई समेत समेट्दै छात्रवृत्तिको सिट संख्या ३४ पुर्याउने निर्णय गरिएको छ ।
प्रतिष्ठानका सचिव कुमार घिमिरेका अनुसार पछिल्ला वर्षहरूमा प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घटेसँगै सामान्य शिक्षामा लाग्न चाहने विद्यार्थीहरूप्रति ध्यान केन्द्रित गरिएको हो । बर्दिवास नगर क्षेत्रका असहाय, विपन्न तथा आर्थिक कारणले अध्ययन अवरुद्ध भएका छात्रछात्राको पहिचान गर्दै, प्रतिष्ठानले २०७७ सालदेखि छात्रवृत्ति वितरणको अभियान सञ्चालन गरिरहेको छ ।
आफ्ना दिवंगत आमाबुवाको सम्झनामा अध्यक्ष खड्काले स्थापना गरेको यो प्रतिष्ठानमार्फत अहिलेसम्म ५० लाखभन्दा बढी लगानी भइसकेको छ । यसमध्ये २१ जनाले प्राविधिक शिक्षा पूरा गरी रोजगारीमा आबद्ध भइसकेका छन् भने केही अझै अध्ययनरत छन् ।
एक जना विद्यार्थीको प्राविधिक शिक्षा पूरा गर्न औसतमा २ देखि ३ लाख रुपैयाँ खर्च हुने बताइन्छ । त्यसैअनुसार, प्रतिष्ठानबाट वार्षिक २२ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको अध्यक्ष खड्काको भनाइ छ ।
हालै सार्वजनिक भएको एसईईको नतिजापछि प्रतिष्ठानले आगामी छात्रवृत्तिका लागि विद्यार्थीहरूबाट दरखास्त आह्वान गरिसकेको छ । यसबाहेक, उत्कृष्ट नतिजा ल्याउने दुई जना जेहेन्दार विद्यार्थीलाई थप छात्रवृत्ति दिने निर्णय गरिएको छ ।
समाजसेवाको प्रेरणादायी उदाहरण बनेको यो अभियानले बर्दिवासमा शिक्षाको पहुँच र गुणस्तर दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।



















