नेपालद्वारा भुटानमाथि सानदार जित, यू–१६ इस्ट जोन क्रिकेटको सेमिफाइनलमा प्रवेश


१७ असार, काठमाडौं –

नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो। नवौं विकेट गुमेपछि मैदानमा पानी पर्न थालेको र अन्तिम ब्याटर ब्याटिङमा नआएपछि खेल त्यत्तिकै सकिएको हो।

भुटानका सेजाङ दावाले १४ र उगेन केल्जाङले १० रन बनाए। नेपाली कप्तान बिपिन शर्माले घातक बलिङ गर्दै १० ओभरमा ६ मेडन राख्दै ७ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, सचिन भट्टले ८ ओभरमा ५ मेडनसहित १५ रन दिँदै २ विकेट लिए भने सुयोग भट्टराईले पनि २ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल बनायो, जुन प्रतियोगितामा दोस्रो सर्वाधिक स्कोर हो। यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रन बनाएको थियो।

नेपालका रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रन बनाए, जुन नेपाली यू–१६ टोलीका खेलाडीले बनाएको अहिलेसम्मकै सर्वाधिक व्यक्तिगत स्कोर हो। यसअघि अर्जुन कुमालले सन् २०२३ को एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए।

अन्य ब्याटरहरूमा जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ र सुगम बुढाथोकीले ३५ रनको योगदान दिए। भुटानका सन्जय दोर्जीले ३ विकेट लिए।

नेपालले यसअघि सिंगापुरलाई ६ विकेट, जापानलाई ९ विकेट र इन्डोनेसियालाई ३७० रनले पराजित गर्दै लगातार चार जित दर्ता गरिसकेको छ। समूह ‘ए’ बाट नेपाल ८ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। दोस्रो स्थानमा रहेको सिंगापुरले ६ अंक जोडेको छ।

नेपालले अब सेमिफाइनलमा समूह ‘बी’ उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको