औरही नगरपालिकाको बजेट सार्वजनिक, मुख्यमन्त्री सिंहद्वारा शिक्षा सुधारमा स्थानीय तहको भूमिका औंल्याउँदै जोड


१० आषाढ, महोत्तरी, मिथलेश महतो।

महोत्तरीको औरही नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड २७ लाख ७७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १६ औं नगरसभामा नगरप्रमुख प्रदीपकुमार खड्काले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका हुन्।

नगरसभाको विशेष सत्रमा सहभागी मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शिक्षा सुधारको नेतृत्व स्थानीय तहले लिनुपर्नेमा जोड दिए। मधेशको शिक्षा अवस्था नाजुक बन्दै गएको उल्लेख गर्दै सामुदायिक विद्यालयको कमजोर स्थितिका लागि शिक्षक र अभिभावक दुवै जिम्मेवार रहेको टिप्पणी गरे।

“मधेशका जनशक्ति अघिल्लो पुस्तामा शिक्षा, स्वास्थ्य र प्राविधिक क्षेत्रमा अग्रणी थिए, तर अहिले मधेशकै जिल्लाहरू असाक्षर बन्दै गएका छन्,” उनले भने, “सरकारी विद्यालयमा भर्ना भएपछि शिक्षक र अभिभावक दुवैले आफ्नो जिम्मेवारी सकिएको ठान्ने प्रवृत्तिले शिक्षा संकटमा परेको हो।”

मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयका विद्यार्थीहरू लागूऔषध दुर्व्यसनमा फस्ने अवस्था आएको उल्लेख गर्दै विद्यालय तहकै शिक्षा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। “विद्यालयको गुणस्तर सुधार्नुपर्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा छ,” भन्दै उनले शिक्षा क्षेत्रको समग्र सुधारको निम्ति समाजले नै नेतृत्व लिनुपर्ने बताए।

मुख्यमन्त्री सिंहले निजी विद्यालयहरू पनि केवल प्रमाणपत्र वितरणमा सीमित भएको, जबकि विद्यार्थीको समग्र क्षमता विकासमा चासो नदिएको आलोचना गरे। सामुदायिक विद्यालयको पठनपाठन र निजी विद्यालयको गुणस्तरमा सुधार ल्याउन स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतले अनुगमन गर्नुपर्नेमा पनि उनले जोड दिए।

नगरप्रमुख प्रदीपकुमार खड्काले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, आधारभूत पूर्वाधार र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ। औरही नगरपालिकाको आगामी वर्षको योजना र बजेटले स्थानीय विकाससँगै शिक्षा सुधारको पक्षमा समेत बल पुर्‍याउने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको