चितवन बस दुर्घटनामा वर्दिवासकी चेली रेणुका कडेलको दुःखद निधन


वर्दिवास, महोत्तरी ।
चितवनको ईच्छाकामना गाउँपालिका–३ स्थित ईभी गाडिमा आज दिउँसो भएको बस र माइक्रोबसबीचको भीषण दुर्घटनामा वर्दिवास नगरपालिका–१ मालपोत चौककी चेली २७ वर्षीया रेणुका कडेलको निधन भएको छ।
दुर्घटनामा रेणुकासँगै उनका ३५ वर्षीय श्रीमान् सरोज पहाडी, ५३ वर्षीया सासु मैयाकुमारी न्यौपाने र गर्भमा रहेको अजन्मेको शिशुको पनि ज्यान गएको पुष्टि गरिएको छ।
रेणुका कडेल गर्भवती थिइन्। उनी गर्भ परीक्षणका लागि हेटौंडा उपमहानगरपालिका–१७, पिप्लेबाट चितवनतर्फ जाँदै गरेको बेला यो दुर्भाग्यपूर्ण दुर्घटना भएको हो ।
यस दुर्घटनाले पूरा परिवारको एकैसाथ ज्यान गएको दर्दनाक स्थिति सिर्जना गरेको छ ।
दुर्घटनामा निधन भएकी रेणुकाको ३ वर्षीया छोरी जीवित रहेकी छिन्।
उक्त बालिकाको आमाबुबा, आजी र अजन्मेको भाइ वा बहिनी सबैको एकैसाथ निधन भएपछि घरमा शोक, स्तब्धता र पीडाले छोपेको छ।
रेणुका कडेलको ५ वर्षअघि विवाह भएको थियो। उहाँलाई वर्दिवासबासीले सालिन, भद्र र हँसिली स्वभावकी युवतीका रूपमा चिन्थे।
उहाँको मृदु व्यवहार, सकारात्मक सोच र मिलनसार स्वभावले उनलाई सधैं सम्झाइरहने स्थान दिएको स्थानीयवासीहरूले बताएका छन्। वर्दिवासमा बसोबास गर्ने उनका माईती परिवार, आफन्त, छरछिमेक र सम्पूर्ण समुदाय यो खबर सुनेपछि गहिरो शोकमा छन्।
स्थानीयहरूले दुर्घटनामा मृत्यु हुने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै यातायात सुरक्षामा सरकार गम्भीर हुनुपर्ने माग गरेका छन्।
यो दुर्घटना केवल एक परिवारको विनाश मात्र होइन, राज्यको सडक सुरक्षाप्रति उत्तरदायित्वको सवाल पनि हो।
स्थानीय बासिन्दाहरूले सरकार, ट्राफिक प्रहरी र सम्बन्धित निकायसँग यस्तो दुर्घटना रोक्न दीर्घकालीन र प्रभावकारी उपाय अवलम्बन गर्न आह्वान गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको