२ असार, ललन मण्डल,अनुराग यादव , बर्दिवास । बर्दिवास नगरपालिका–३ मा सञ्चालित स्नेहा होटलमा अवैध यौन क्रियाकलाप भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिवासले आइतबार राति छापा मारेर पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई महिला, दुई भारतीय नागरिक पुरुष र एक होटल सञ्चालक रहेका छन्।
प्रहरीका अनुसार राति करिब १२ बजे गोप्य सूचनाको आधारमा टोली परिचालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा ती भारतीय नागरिकहरू साँझ बर्दिवास–१ स्थित ‘आदित्य खाजा घर’मा खाजा खाएर सिधा स्नेहा होटल गएका थिए भन्ने पुष्टि भएको छ।
सौदाबाजी र गिरोहको संजाल खुल्ने संकेत
अनुसन्धान अनुसार, होटल सञ्चालक ममता पासवानले पहिला एक महिलालाई फोनमार्फत बोलाएर ती पुरुषहरूसँग परिचय गराएकी थिइन्। त्यसक्रममा प्रति व्यक्ति पाँच हजार रुपैयाँमा यौन सम्बन्धको सौदाबाजी भएको खुलेको छ। पछि ती पुरुषहरूले थप एक महिला माग गरेपछि ममताले अर्को महिलालाई समेत बोलाएर पठाएको पक्राउ परेकी एक महिलाले बताईन ।
पक्राउ परेका महिलामध्ये एक जनाले दिएको बयानमा ममता पासवान नै यस्ता गतिविधिको नाइके भएको खुलासा गरेकी छिन्। उनले आफूहरूलाई रातभरको सेवावापत दुई हजार रुपैयाँ दिइने गरेको बताएकी छन्।
स्थानियका अनुसार, ममता पासवान विगत दुई वर्षदेखि युवतीहरूलाई यौन क्रियाकलापका लागि विभिन्न होटलहरूमा पठाउने कार्यमा संलग्न छिन्। उनको गिरोहमा १५–२० जनासम्मको संलग्नता रहेको आशंका गरिएको छ।
आदित्य खाजा घरको भूमिकामाथि पनि प्रश्न
गोप्य सूचनाका आधारमा प्रहरीले पाएको जानकारी अनुसार, ‘आदित्य खाजा घर’बाट दैनिकजसो ४–५ जना महिलाहरू बर्दिवास र छिमेकी जिल्ला धनुषाका विभिन्न होटलहरूमा यौन क्रियाकलापका लागि पठाइने गरिएको छ। पक्राउ परेका पुरुषहरूले छुट्टाछुट्टै कोठा लिएर ती महिलासँग बसेको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीको औपचारिक प्रतिक्रिया
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विकास बमले भने,“गोप्य सूचनाको आधारमा छापा मार्दा यौन क्रियाकलाप भइरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिइएको हो। ममता पासवान प्रमुख नाइकेको रूपमा पहिचान भएकी छन्, तर हाल फरार छिन्। उनलाई खोजी गर्न विशेष टोली परिचालित गरिएको छ।”
डीएसपी बमका अनुसार, पक्राउ परेकाहरूविरुद्ध मानव बेचबिखन तथा यौन अपराधसम्बन्धी कानुनअनुसार मुद्दा दर्ता गरिएको छ र उनीहरूलाई थप अनुसन्धानका लागि महोत्तरी जिल्ला पठाइएको छ।
होटल संघको प्रतिक्रिया
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्कीले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने,
“हामी सम्पूर्ण होटल व्यवसाय चोखो छ भन्ने दाबी गर्दैनौं। तर यो घटना हाम्रो संघमा आवद्ध नभएको होटलबाट भएको हो। केही महिना अगाडि यस्तै गतिविधि देखिएपछि हामीले सदस्य होटलहरूलाई सतर्क रहन अनुरोध गरेका थियौं।”
स्थानीय बासिन्दा शंकर फुयालले यस्ता गतिविधिको वृद्धि प्रति चिन्ता व्यक्त गर्दै भने,“हामीले बारम्बार प्रहरीलाई जानकारी दिँदै आएका छौं। अब निरन्तर निगरानी, कानुनी कारबाही र प्रहरीको सक्रिय उपस्थिति अत्यावश्यक छ।”









