१९ जेठ, काठमाडौं । जनमत पार्टी केन्द्रीय कार्यकारीणी समितिको निर्णयअनुसार २०८२ जेठ २२ गतेदेखि मधेशका जिल्लाहरूमा “राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम” सुरु हुने भएको छ।
कार्यक्रममा पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष, संगठन विभाग प्रमुख, जिल्ला इन्चार्ज, वडा÷पालिकाका अध्यक्ष तथा सचिवहरूको सक्रिय सहभागिता रहने जनाइएको छ।
राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउतको नेतृत्वमा सञ्चालन भइरहेको यस अभियानको उद्देश्य संघीय तहदेखि स्थानीय तहसम्म संगठन सुदृढीकरण र राजनीतिक प्रशिक्षण सुनिश्चित गर्नु हो।
सप्तरीदेखि पर्सासम्म चरणबद्ध कार्यक्रम
पार्टी अनुशासन समितिकी सदस्य तथा राष्ट्रिय सचिव अनिता कुमारी मण्डलका अनुसार, कार्यक्रम जेठ २२ गते सप्तरीबाट सुरु भई क्रमशः सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा हुँदै २०८२ असार १२ गतेसम्म सञ्चालन हुनेछ।
हरेक जिल्लामा दुई वा तीन चरणमा बिहान र दिउँसो गरी प्रशिक्षण बैठकहरू आयोजना गरिनेछ।
कार्यक्रमहरू सम्बन्धित जिल्लाका प्रमुख बजार, हल वा पार्टी कार्यालयमा सञ्चालन गरिनेछन्।

सहभागीका लागि परिचयपत्र अनिवार्य
कार्यक्रममा सहभागी हुने प्रतिनिधिहरूले फोटोसहितको परिचयपत्र अनिवार्य रूपमा ल्याउनु पर्ने व्यवस्था गरिएको छ। सचिव मण्डलले जानकारी दिँदै भनिन्, “यो प्रशिक्षण कार्यक्रम संगठनको संरचना, नीति र अनुशासन सुदृढीकरणमा अत्यन्तै महत्वपूर्ण छ। सहभागी सबैजना आ–आफ्नो क्षेत्रमा संगठन सुदृढ पार्ने एजेन्डा बोकेर फर्कनुपर्नेछ।”



















