४ जेठ, महोत्तरी – बर्दिवास नगरपालिकाको आर्थिक सहयोग, बर्दिवास जनसेवा हस्पिटल र बर्दिवास आँखा अस्पतालको प्रविधिक साझेदारी, तथा नेपाल रेडक्रस सोसाइटी बर्दिवास शाखाको व्यवस्थापनमा आयोजित निःशुल्क मोतियाबिन्दु शल्यक्रिया कार्यक्रममा ४१ जना बिरामीको सफल अपरेशन गरिएको छ ।
शल्यक्रियामा नेत्र रोग विशेषज्ञ डा. हेमचन्द्र झाको नेतृत्वमा दक्ष चिकित्सकहरूको टोली संलग्न थियो । जनसेवा अस्पताल प्रशासनका अनुसार, बर्दिवासका विभिन्न वडाहरूबाट आएका ज्येष्ठ नागरिक सहितका बिरामीहरूलाई लक्षित गरी आज सम्पन्न भएका सबै शल्यक्रिया सफल, सुरक्षित र सन्तोषजनक भएको जनाइएको छ ।
“सक्रिय सहकार्य र समर्पित चिकित्सकहरूको टोलीका कारण अपरेशनहरू समयमै र उत्कृष्ट रूपमा सम्पन्न भएका छन,” अस्पतालका एक प्रतिनिधिले जानकारी दिए ।
बर्दिवास नगरपालिका वडा नं. ८, हात्तिलेटका निवासी वृज मोहन यादवले सेवा पाएकोप्रति हर्ष व्यक्त गर्दै भने, “मोतियाबिन्दुले हामी श्रीमान श्रीमतीको आखै धमिलो भएको थियो, अब त छर्लंग देखिन थालेको छु । अस्पताल, डाक्टर र नगरपालिका सबैलाई धन्यवाद दिन्छु । हामीजस्ता निम्न आय भएका वृद्धवृद्धाका लागि यस्ता कार्यक्रम वरदान हुन्।”
कार्यक्रममा बर्दिवास नगरपालिकाले आर्थिक स्रोतको व्यवस्था, बर्दिवास जनसेवा अस्पताल र आँखा अस्पतालले प्रविधिक तथा चिकित्सकीय सहयोग, तथा नेपाल रेडक्रस सोसाइटीले कार्यक्रम व्यवस्थापन र समन्वयको भूमिका निर्वाह गरेका थिए ।

“स्वास्थ्य सेवा सबैको पहुँचमा हुनुपर्छ भन्ने उद्देश्यका साथ हामी यस्ता कार्यक्रम गर्दै आएका छौं,” आयोजक संस्थाहरूले संयुक्तरूपमा बताएका छन्। ।
बर्दिवास जनसेवा अस्पतालका प्रमुख सुमन भुजेलका अनुसार, “यो मोतियाबिन्दु शल्यक्रिया कार्यक्रम हरेक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ। सयौँ स्थानीय वृद्धवृद्धाले लाभ लिइसकेका छन्। कुनै पनि जिल्लाका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै सेवा दिंदा हामीले साँचो अर्थमा ‘जनसेवा’ गरेको अनुभूति गरेका छौं।”
उनले आगामी दिनमा थप जिल्लाका बिरामी समेट्ने र अझै व्यापक सूचना प्रणाली मार्फत पहुँच फैलाउने योजना रहेको पनि जानकारी गराए ।




















