
२६ बैशाख , सिम्रौनगढ ः जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू ऐतिहासिक सहर सिम्रोनगढ आएको बेला भावुक हुने गरेको बताएका छन् ।
शुक्रबार बाराको सिम्रोनगढमा पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै सिम्रोनगढको गौरवको गाथा सुनाएका थिए । ‘सिम्रोनगढले काठमाडौंमाथि पटक पटक आक्रमण गरेर कब्जा गरेको इतिहास छ । हामी एउटा शक्तिशाली राज्यको नागरिक थियौं । यसको गौरवमय इतिहास छ ।’
डा. राउतले भने, ‘म जब जब सिम्रोनगढ आउँछु, भावुक बन्ने गरेको छु । यहाँको भूमिमा आउँदा मलाई उर्जा मिल्छ ।हामीहरुलाई फेरी त्यो सिम्रोनगढको गौरवशाली इतिहासलाई ल्याउनुछ ।’
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता अजित महतो, मनोज साह सोनारको नेतृत्वमा विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका छन् ।
जनमत पार्टी सिम्रौनगढ नगर कार्यसमितिद्वारा आयोजित पार्टी प्रवेश तथा जनसभामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, आम जनता पार्टीका सयौंजना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतले मधेशको पहिचान झल्काउने गम्छा फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउत, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ, पूर्व कृषि मन्त्री बसन्त कुशवाहा, बारा जिल्ला इन्चार्ज शिवनाथ पटेलसहित पार्टीका नेता तथा कार्यकर्ताहरु उल्लेख्य सहभागिता रहेको थियो ।