१६ बैशाख , काठमाडौं – जनमत पार्टीले आज साँझ आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक साँझ ६ बजे काठमाडौंको मध्यबानेश्वरस्थित सनराईज क्याफे एण्ड ब्याङ्क्वेट को सभा हलमा बस्दैछ।
यो बैठक जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको ऐतिहासिक एकतालाई औपचारिक बनाउने तयारीस्वरूप आह्वान गरिएको हो। पार्टी केन्द्रीय सचिवालयद्वारा जारी सूचनामा भनिएको छ कि बैठकमा सहभागी सबैलाई नागरिकता र मतदाता परिचयपत्र अनिवार्य रूपमा ल्याउन अनुरोध गरिएको छ।
बैठकमा दुई पार्टीबीचको एकीकृत संरचना, भावी रणनीति, संयुक्त नेतृत्वको संयोजन, नीतिगत दस्तावेजहरूको अन्तिम मस्यौदा तथा वैशाख १७ गतेको एकता घोषणा कार्यक्रमको तयारीमाथि छलफल हुनेछ।
भोलि एकता घोषणा कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा
दुई पार्टीबीचको औपचारिक एकता घोषणा कार्यक्रम भोलि, २०८२ वैशाख १७ गते बुधवार बिहान ११ बजे, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिनेछ।
पार्टीका प्रवक्ता डा. शरद सिंह यादव ले एकताबारे बोल्दै भने,“यो एकता केवल संगठनको मिलन होइन, यो जनताको अधिकार र न्यायप्रति हाम्रो साझा प्रतिवद्धताको अभिव्यक्ति हो।“
उनका अनुसार, कार्यक्रममा केन्द्रीय कार्यसमितिका सदस्यहरू, राष्ट्रिय परिषद् सदस्यहरू, प्रदेश संयोजकहरू, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र लोकतन्त्रप्रेमी नागरिकहरू सहभागी हुनेछन्।
नयाँ राजनीतिक अध्यायको थालनी
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता नेपाली राजनीतिको बहुलवाद, समावेशिता, सामाजिक न्याय र क्षेत्रीय प्रतिनिधित्वको सुदृढीकरणतर्फको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
पार्टीले सबै कार्यकर्ता, शुभेच्छुक र लोकतन्त्रप्रेमीहरूलाई यो ऐतिहासिक क्षणमा उपस्थित भई साथ दिन हार्दिक आग्रह गरेको छ।



















