नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकीकरणको तयारी, काठमाडौंमा केन्द्रीय समिति बैठक आह्वान


१२ बैशाख, काठमाडौं – नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको सम्भावित एकीकरणका विषयमा औपचारिक छलफल गर्न नागरिक उन्मुक्ति पार्टीले काठमाडौंमा केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा बैठक २०८२ साल बैशाख १५ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने जनाइएको छ।
सूचनामा भनिएको छ, “नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकीकरण सम्बन्धी छलफल र १७ गते एकीकरण हुने सन्दर्भमा अनिवार्य केन्द्रीय समिति बैठक बोलाइएको जानकारी गराइन्छ।“ बैठकमा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको अनिवार्य उपस्थिति अपेक्षित गरिएको छ। साथै, बैठकमा सहभागीहरूले नागरिकता र मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार यो बैठक आगामी राजनीतिक एकताका लागि यथार्थवादी मार्गरेखा तय गर्ने अवसर हो। उनले भनिन्, “नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता केवल संख्यात्मक हैन, विचार र आन्दोलनको साझा यात्रामा आधारित छ। हामी जनताको चाहनालाई सम्मान गर्दै, सहमति र सरोकारको साझा आधारमा एकताको बाटो तय गर्दैछौं।“
श्रेष्ठका अनुसार मधेशको प्रतिनिधित्व गर्ने दलहरूबीचको एकता राष्ट्रिय राजनीतिमा निर्णायक मोड सावित हुन सक्छ। उनले थपिन्, “हामी पार्टीको संगठनात्मक हैसियत, कार्यकर्ता भावना र आन्दोलनको निरन्तरताका पक्षमा कुनै सम्झौता नगरी, समता र स्वाभिमानको आधारमा सहकार्य गरिरहेका छौं।“
राजनीतिक पर्यवेक्षकहरूका अनुसार यदि एकता प्रक्रिया सफल भएमा मधेशमा फरक राजनीतिक सन्देश जानेछ र वैकल्पिक शक्तिको हैसियतमा यो गठबन्धन स्थापित हुनसक्छ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको