बर्दिबास, महोत्तरी – बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानले आफ्नो ६८औँ नियमित साहित्य शृङ्खला सम्पन्न गरेको छ। २०८१ साल चैत ८ गते, शुक्रबार, जनता बहुमुखी क्याम्पसको सभाहलमा आयोजित सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता तथा क्याम्पस प्रमुख चेत बहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रम सञ्चालन उदाउँदा साहित्य प्रतिभा रामकृष्ण भण्डारीले गरेका थिए। प्रतिष्ठानकी सचिव यशोदा श्रेष्ठले प्रतिष्ठानको उद्देश्य तथा यसले अघि बढाएको साहित्यिक अभियानबारे संक्षिप्त जानकारी दिँदै उपस्थित सबैलाई स्वागत गरिन्।
शृङ्खलाका अवसरमा अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए। मन्तव्य दिनेहरूमध्ये नाट्य विभाग सहसंयोजक अनिल दहाल, उपप्राध्यापक सागर ढकाल, बुढ्यौली साहित्य समाज महोत्तरी तथा प्रलेस महोत्तरी सचिव नारद काफ्ले, प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरी उपाध्यक्ष सानीमाया पुलामी, पूर्व विद्यार्थी मञ्चका सचिव मदन सुन्दास, नवसर्जक साहित्य चौतारी मधेस प्रदेश उपाध्यक्ष प्रतिमा पौडेल, युवा सञ्जाल मधेस प्रदेश उपाध्यक्ष गंगा साह, जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय सदस्य विमला वि.क., तथा प्रलेस नेपाल मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे प्रमुख थिए।
सांस्कृतिक पक्षलाई बल दिने उद्देश्यले आयोजित कार्यक्रममा सारङ्गी वादक सुमन सारङ्गी, अर्चना न्यौपाने, उपप्राध्यापक रुस्मा लामिछाने, डिल्ली श्रेष्ठ, शिक्षा संकाय प्रमुख हरि खनाल अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा साहित्यिक सिर्जना वाचन गर्नेहरूमा दिनेश कुमार महतो, लेखनाथ न्यौपाने, कमल कुमार साह, ईश्वरी वराल, अंकित कुशवाह, समीक्षा पोखरेल, सोस्तिका गौतम, अविनाश माझी, अनिल दहाल, प्रतिमा पौडेल, सानीमाया पुलामी, गंगा साह, रामकृष्ण भण्डारी, मदन सुन्दासलगायत रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि चेत बहादुर खड्काले नवप्रतिभाहरूको खोजी तथा उजागर गर्ने कार्यमा प्रतिष्ठानको भूमिका उल्लेखनीय रहेको बताए। उनले साहित्यिक गतिविधिले विद्यार्थीहरूलाई सिर्जनात्मक दिशामा अघि बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने आशा व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ६८औँ शृङ्खलालाई सफल बनाउन उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, साहित्य अनुरागी तथा विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए।










