
बर्दिवास । बडा दशैंको नवरात्रको चौथो दिन आइतबार बर्दिवास –४ पञ्चधुरामार्ई मन्दीरमा भेटीए भारत सितामढीका रामसेवक मण्डल । उनले आफू हरेक वर्ष नवरात्रमा यहाँ आउने गरेको सुनाए । अहिलेको पञ्चधुरामाई परिसर देखेर गुनासो गर्दै उनले भने ‘नवरात्रमा हरेक देवी मन्दीर झकिझाकाउ पारिन्छ । मन्दीर नभएका ठाउँमा माटाको मुर्ती बनाएर पनि पूजाआजा गरिन्छ । तर, यत्रो प्राचिन शक्तिपीठ सुनसान छ !’
जम्मा दुईजना दर्शनार्थी देखिएको मन्दीरमा अर्का थिए महोत्तरीकै लोहारपट्टीका भोला मण्डल । भोलाले पनि रामसेवकजस्तै गुनासो गरे । पहिले यहाँ पानीे आफै आउथ्यो । यहाँको पानीले हाथिलेट र बर्दिवासको आधा भाग सिंचाई हुने गरेको बताउँदै उनले भने ‘राति यहाँ वास बसेर देवीको सच्चा मनले पुकारा गरे साक्षात दर्शन हुन्थ्यो । मैले ढाँटेको होइन ।’
यहाँकोजस्तो बाँसको जात अन्यत्र पाइदैन अहिले सबै सखाप भएको गुनासो गर्दै उनले जुन स्थानको देवीको उत्पत्तिको कसैलाई कुनै तिथि मिति थाहा छैन । यस्तो प्राचिन देवीको स्थान दशैंमा पनि सुनसान हुनु दुःखदायी कुरा भएको बताए । मन्दीर बाहिर भेटिएका एक बर्दिवास –४ कै एक बृद्धले भने ‘यहाँको देवीलाई त मान्छेले साह्रो–गाह्रो पर्दा भाक्छन्, सम्झन्छन् । काम भइसकेपछि बिर्सन्छन् ।’
नवरात्रको चतुर्थीका दिन बिहानको ११ वजे मन्दीरको ढोका बन्द र सुनसान थियो । मन्दीरमा भूस्याहा कुकुर घुमिरहेका थिए । नजिकको तलाउमा लामालामा घांसपात उम्रेका थिए । तलाउको किनार भने रंगरोगन गरिएको घेरबेर गरेर चिटिक्क थियो । बाँस सुकेर खङ्ग्रङ्गै देखिन्थ्यो । धर्मशालामा लमतन्न सुतिरहेका मन्दीरका पुजारीले भने ‘बिहान नयाँ गाडी पूजा गर्न आएका दुई तीन जना थिए । केही दर्शन गर्न मात्र पनि आएका थिए । खासै दर्शनार्थी आएका छैनन् ।’
राणा शासनका संस्थापक जङ्गबहादुर राणाले शिकार खेल्न जाँदा सेतो बाघ देखेपछि बिरामी भएको डायमन शमसेरद्वारा लिखित ‘सेतो बाघ’ नामक उपन्यासमा उल्लेख छ । जङ्गबहादुरले देखेको सेतो बाघ पञ्चधुरामाईकै बाहन भएको बताइन्छ । उनले यहीँ सेतेको बाघ देखेको र बिरामी भएर फर्कदा सर्लाहीको पथ्थरकोटमा मृत्यु भएको बताइन्छ । पथ्थरकोटलाई ऐतिहासिक उपन्यासकार राणाले पथ्थरघट्टा उल्लेख गरेको पाइन्छ । यस हिसावले पनि यो मन्दीर प्राचिनतम रहेकोमा शंका छैन ।
यता बर्दिवास –१ का माधव पौडेल पछिल्लो समय पञ्चधुरा माईस्थानमा बाँदरको विगविगि बढेकाले दर्शनार्थिको कमी भएको बताउँछन् । उनी केटाकेटी लिएर मन्दीर जाने अवस्था छैन बाँदर हातमै टोक्न आउने बताउँछन् । उनी भन्छन् ‘मन्दीर गएर आएपछि रेविजको सूई नै लगाउनु पर्छ अनि कसरी जानु मन्दीर, घरबाटै नमस्कार गर्ने हो ।’ अर्का बर्दिवासकै एक ब्यापारी– माईलाई भाकल गरेकोमा मन्दीरमै प्रसाद खुवाउन मान्छे डाकेकामा बाँदर धपाउने एकजना छुट्टै मान्छे लानु परेको सुनाउँछन् ।
बर्दिवास –४ का वडाध्यक्षसमेत रहेका मन्दीर व्यवस्थापन समितिका सदस्य अक्कलबहादुर तामाङ्ग दशैका अवसरमा मन्दीरमा रंगरोगन गरिएको बताउँदै दर्शनार्थी पहिलेकोभन्दा कम भएको स्वीकार गर्छन । माईस्थानको बाँदर अन्यत्रको भन्दा हिंसक भएको पौडेलको कथन छ । उनी माईस्थानमा बाँदर नियन्त्रण गर्न सरोकारवालाले ढिलाई गर्न नहुने धारणा राख्छन् ।