हेटौंडा, साउन ८ । एमालेले बागमती प्रदेश सरकारमा आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ ।
मंगलबार बिहान मात्र एमालेले सरकारमा पठाउने आफ्ना सांसदको नाम टुंगो लगाएको थियो ।
एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, र कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ ।
त्यस्तै सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।
श्रेष्ठ बाहेक एमालेका सबै मन्त्री नयाँ अनुहार हुन् । श्रेष्ठ भने शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री थिए ।
जम्कट्टेल नेतृत्वको पछिल्लो सरकारमा रहेका जगन्नाथ थपलिया, केशव पोख्रेल, एकालाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ २५ पुस २०७९ मा गठित सरकारमा पनि मन्त्री भइसकेका थिए ।
वाग्मतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बहादुरसिंह लामाले आज एमालेको समर्थनमा दाबी पेश गरेका छन् । आज साँझ ५ बजेसम्ममा उनको नियुक्तिको तयारी भइरहेको प्रदेश प्रधान कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री लामासहित अन्य १२ मन्त्रीले भोलि ११ बजे सपथ लिने जनाइएको छ । b









