
सुर्खेत, साउन ७ । नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् ।
प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरी राजीनामा दिने भएका छन् ।
संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिने जानकारी दिए । केन्द्रमा नयाँ समीकरण बनेपछि प्रदेश पनि त्यही अनुसार चल्नुपर्छ ।
कर्णालीमा पहिलोपटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको छ । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा सहभागी माओवादी ६ वर्षदेखि सरकारमा छन् ।
एमाले नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाही सहभागी छन् । उनीहरूले आज पत्रकार सम्मेलन गरेलगत्तै मुख्यमन्त्री कँडेल समक्ष राजीनामा पत्र बुझाउनेछन् ।
मन्त्रीको राजीनामासँगै माओवादी संसदीय दलले कँडेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनेछ ।
हाल काठमाडौंमा रहेका संसदीय दलका नेता राजकुमार शर्माले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र मेलमार्फत पठाउने बताइएको छ ।
माओवादीले सरकारबाट बाहिरिने तयारी गर्दा पनि एमाले र कांग्रेसबीच नयाँ सरकार गठनका विषयमा छलफल नै सुरु भएको छैन ।
४० सदस्यीय प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) र कांग्रेसका १५ सांसद छन् । जबकि सरकार बनाउन २१ सांसद आवश्यक पर्छ । यसरी हेर्दा कर्णालीमा एमाले र कांग्रेसको सहज सरकार बन्छ ।
नयाँ समीकरणमा पनि मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने र माओवादीले छोडेका मन्त्रालयहरू लिएर कङ्ग्रेस सरकारमा सहभागी हुने एमालेका सांसदहरू बताउँछन् ।
कर्णालीमा पनि कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्छ भन्ने अडान लिएको छैन । onlinekhabar