
काठमाडौं, साउन ६ । बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा अझै भारी वर्षाको सम्भावना रहेकाले खोला र नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जनाएको छ ।
अबका तीन दिन कर्णालीको सहायक नदी भेरी र पश्चिम सेतीको जलसतह उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरुमा पनि पानीको बहाव बढ्ने छ । कन्काई, कमला, वाग्मती, पूर्व राप्ती, पश्चिम राप्ती र बबई नदीमा पनि पानीको बहाव बढ्ने महाशाखाको अनुमान छ ।
आज सङ्खुवासभा, कास्की, लमजुङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व, अछाम, डोटी, बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै बग्ने अधिकांश साना नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको छ । यी जिल्लाका केही साना नदीमा बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकाले उच्च सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ ।
त्यसैगरी सोलुखुम्बु, सिन्धुली, उदयपुर, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, गोरखा, चितवन, पर्वत, म्याग्दी, बागलुङ, प्युठान र कालीकोट र दार्चुला भई बहने अधिकांश साना नदीमा समेत बहाव बढ्ने महाशाखाको अनुमान छ । रातोपाटी