काठमाडौँ, साउन २ । सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । यस दिन सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ मूल्य तोकेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान कायम गरेको सुनको भाउले नेपाली बजारमा पनि कीर्तिमान कायम गरेको छ । नेपालमा मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार समायोजन गरिन्छ ।