
काठमाडौँ, असार २४ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश नियन्त्रक कार्यालय लुम्बिनीका अनुसार प्रदेश सरकारले चालु बजेटको ६२.३८ प्रतिशत र पुँजीगत बजेटको ६८.९३ प्रतिशत खर्च गरेको छ ।
जसमध्ये असार २४ गते (चालू आर्थिक वर्षको भुक्तानीको अन्तिम दिन)सम्म २६ अर्ब ७७ करोड ३५ लाख ११ हजार २०३ रुपैयाँ ४० पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका अनुसार लुम्बिनी प्रदेशको खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको बजेट खर्च प्रतिशत सबैभन्दा बढी रहेको छ । मन्त्रालयले ७७ दशमलव ४० प्रतिशत बजेट खर्च गरेको छ ।
बजेट खर्चको सबैभन्दा कमजोर प्रतिशत रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बजेटको १६ दशमलव ६९ प्रतिशत मात्रै खर्च गरेको छ ।
प्रदेशसभा सचिवालयले ६६ दशमलव ३४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लोकसेवा आयोगले बजेटको ६९ दशमलव ५३ प्रतिशत खर्च गरेको छ । त्यसैगरी अर्थ मन्त्रालयले ५० दशमलव ९ प्रतिशत, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले ४७ दशमलव १० प्रतिशत बजेट खर्च गरेको छ ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ६२.७४ प्रतिशत, गृह मन्त्रालयले ६२.१ प्रतिशत र वन तथा वातावरण मन्त्रालयले ६२.७९ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयले ७०.०६ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ५४.३९ प्रतिशत र स्वास्थ्य मन्त्रालयले ७३.४९ प्रतिशत बजेट कार्यान्वयन गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
त्यस्तै प्रदेश योजना आयोगले ४१ दशमलव ९७ प्रतिशत बजेट खर्च गरेको छ । स्थानीय तहको वित्त हस्तान्तरणमा ९३.९१ प्रतिशत खर्च भएको छ ।