
जनकपुरधाम, जेठ २४ । अल्पमतमा रहेका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री यादवलाई विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ । मुख्यमन्त्री यादवले मङ्गलबार मात्रै विश्वासको मत लिने भन्दै प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए ।
उनले विश्वासको मत नपाउने निश्चित देखिन्छ । त्यसैले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो १० बजे बस्ने जसपा संसदीय दलको बैठकले निर्णय गर्ने एक सांसदले बताए ।
२३ वैशाख, मुख्यमन्त्री यादव रहेको जसपा नेपाल विभाजन भएको थियो । ३० वैशाखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार छाडेर दिएको समर्थन फिर्ता लिएका थिए ।
दल विभाजनका आधारमा सरकारको नेतृत्व गर्ने दलको मुख्यमन्त्रीले ३० दिनभित्र वा सत्तारुढ दलले सरकारबाट समर्थन फिर्ता लिएको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
सरकारमा रहेको नेकपा एकीकृत समाजवादीपार्टीले मंगलबार समर्थन फिर्ता लिंदा मुख्यमन्त्री यादव सदनमा विश्वासको मत गुमाउने निश्चित देखिन्छ ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा एमाले सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोस्पाको ८ र संयुक्त समाजवादी पार्टीको ७ सिट सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एकरएक सिट छ ।
सरकार बनाउन वा बचाउन आवश्यक ५४ सिट जसपाको लागि पर्याप्त छैन ।
माओवादी केन्द्रसँगै जनमतको नेतृत्वमा सरकार गठन गर्न सहमत भएको एमालेमा अब एकीकृत समाजवादी पनि थपिएका छन् ।
नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीबीच सहकार्य गर्ने सहमति भएपछि अब यसको सङ्ख्या ५५ पुग्ने भएकाले जनमत संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने निश्चित देखिन्छ ।
मुख्यमन्त्रीले सदन फेस गरे आज साँझसम्म जनमतका महेशप्रसाद यादवलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने दलहरुको तयारी छ ।