नेपाललाई पर्यटकीय हबका रूपमा विकास गर्छौ: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री


गण्डकी, जेठ २१ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय हबका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले आइतबार पोखरामा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई स्वागत गर्न आयोजना गरेको रात्रिभोजमा उनले सो कुरा बताएका हुन् ।

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताउँदै उनले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनमा लागेको बताए । ‘नयाँ गन्तव्यस्थल र पदयात्राको पहिचानसँगै पर्यटकीय सर्किटको विकास गर्ने सरकारको योजना छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधता आदि हाम्रा पर्यटकीय सम्पदा हुन् । ” उनले राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिलाई आफ्नो समुदाय र देशमा नेपालको पर्यटनबारे प्रचारप्रसार गरिदिन आग्रह गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली आतिथ्यताका लागि विश्वभर चिनिएको बताए । उनले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अनेकौँ प्राकृतिक तथा सांस्कृतिक सम्पदा हेर्न विश्वभरबाट पर्यटक नेपाल आउने गरेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले पर्यटकीय राजधानी पोखरा साहसिक पर्यटनका लागि उत्तिकै महत्वपूर्ण गन्तव्यको रुपमा विकास भइरहेको बताए । उनले ध्यान, योग र आध्यात्मिक पर्यटनबाट पोखराको थप विकास गर्न सकिने बताए । अन्नपूर्ण दिवसका अवसरमा आइतबार विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रा गरेका थिए ।

विश्वमै पहिलो पटक आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गरेको सम्झनामा यो पदयात्रा आयोजना गरिएको थियो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुइस लाचानलले ८,०४१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए ।

सोही दिनको सम्झनामा हरेक वर्ष अन्नपूर्ण दिवस मनाइन्छ । पर्यटकीय राजधानी पोखरामा आज ७४औँ अन्नपूर्ण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको