महेन्द्रनगरमा राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउदै


Deep Diamond

कञ्चनपुर, जेठ ८ । कञ्चनपुरमा राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको काम सुरु गरिएको छ। महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक पूर्व विद्यार्थीहरुको सहयोगमा विद्यालय परिसरमा राष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्न लागेको हो ।

खेल मैदानका लागि जग्गा रेखाङ्कन गरी माटो भर्ने काम भइरहेको वैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले जानकारी दिए ।

‘अहिले पाँचरछ लाखको लागतमा माटो भर्ने काम भइरहेको छ’, कलौनीले भने, ‘महेन्द्रनगरमा क्रिकेट खेलाडीका लागि मैदान नहुँदा विद्यालयले खेलमैदान बनाउन लागेको हो । उनले कञ्चनपुर प्रतिभावान खेलाडी उत्पादन गर्ने ठाउँ भएकाले यहाँ खेल मैदानको आवश्यकता रहेको बताए । सुदूरपश्चिमलाई क्रिकेट खेलाडीका लागि उर्वरभूमिको रुपमा लिइन्छ।

दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोरालगायतका राष्ट्रिय खेलाडी कञ्चनपुरकै उत्पादन हुन्। तर खेलाडीलाई अभ्यास गर्नका लागि भने गतिलो खेलमैदान छैन।

निर्माणाधीन खेल मैदानको स्थलगत निरीक्षण गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सरकारले राष्ट्रियस्तरको खेलमैदान बनाउन सहयोग गरे स्रोतसाधन र कर्मचारी व्यवस्थापनको जिम्मा क्रिकेट सङ्घले लिने बताए। “हामीले पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण गर्न सकेका छैनौँ”, अध्यक्ष चन्दले भने,“सरकारले पूर्वाधार निमार्णमा लगानी गरिदिए क्रिकेटको विकासमा टेवा पुग्छ।”

उनले अहिले पनि नेपाली राष्ट्रिय क्रिकेट टिममा सुदूरपश्चिमकै खेलाडीको वर्चस्व रहेको बताउँदै ग्रासरुटमा क्रिकेट अभ्यासका संरचना बन्नुपर्ने बताए। “यहाँ खेल मैदान बन्न सक्यो भने हामी राष्ट्रियस्तरका प्रतियोगिता यहाँ खेलाउन सक्छौँ”, उनले भने, “खेल संरचना निर्माणमा राज्यको लगानी हुन जरुरी छ।”

क्रिकेट खेलका लागि पूर्वाधार निर्माणमा राज्यले ध्यान नदिएको स्थानीय बिसनदत्त जोशी बताउँछन् । ‘खेलकुदको विकासमा राज्यको ध्यान गएको देखिँदैन’, उनले भने, ‘सरकारले आगामी वर्षको बजेटमा खेलकुदलाई प्राथमिकता दिएर खेलकुद पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको