वीरगञ्ज (पर्सा), वैशाख ११ गते ।
वीरगन्ज महानगरपालिका–१७ स्थित अलौमा मंगलबार बिहान आगलागी हुँदा सात घर जलेका छन् ।
वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए।
‘सात जनाको घर र अन्य लत्ताकपडा तथा भाँडाकुँडासमेत जलेको छ,’ उनले भने, ‘ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौं । फुसको घर मात्रै होइन, गाईगोठलगायत संरचना पनि ध्वस्त भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले दुईवटा दमकलको सहायताले दुई घण्टामा आगो नियन्त्रणमा लिइएको बताए ।
आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपत, कपडा जलेर १० लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सहनीको सुनचाँदी, एउटा गाई र चार वटा बाख्रापनि जलेका छन् । आगलागीबाट साहनीकी छिमेकी मैना सहनीको घरमा रहेको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी आठ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सोही ठाउँका वीरेन्द्र साहनीको घर, अन्नबालीसहित अन्य सामानमा रु चार लाख ८० हजार बराबरको क्षति पुगेको छ । यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा, सुनचाँदी, गरगहनासहित ११ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर अनपात, लत्ताकपडा, सामान, सुन चाँदीलगायत रु ४ लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । अभय सहनीसात लाख ८० हजार रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सोही ठाउँको अदालत साहको रु १० लाख बराबरको क्षति भएको छ ।
वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए। यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा रु १२ करोड ८४ लाख बराबरको क्षति भएको थियो।
(सेतोगाटि)



















