ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : नेकपा एमाले


काठमाडौं, वैशाख ४ गते । 

सत्तारुढ दल नेकपा एमालेले गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेले सहकारीको कोष हिनामिना गर्नु दुखद भएको बताएको छ । एमालेका प्रमुख सचेतक समेत रहेका महेश बर्तौलाले सहकारीमा धेरै नागरिक ठगी भएको बताउँदै पीडितलाई न्याय र ठगीमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ नेकपा एमालेको स्थायी मान्यता भएको बताए ।

‘सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएर एकपछि अर्को विषयहरू आइरहेका छन् ।, यो दुखद कुरा हो’, बर्तौलाले रातोपाटीलाई भने, ‘सहकारीबाट ठगिएका पीडितले न्याय पाउनुपर्छ, बदमासी र ठगी गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने नेकपा एमालेको स्थायी मान्यता हो ।’

नेता बर्टौलाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूबारे उठेका प्रश्नको जवाफ दिनु नै आफ्नो पहिलो काम भएको र अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताए ।

‘आएका विषयहरूमा अनुसन्धान र अध्ययन प्रक्रियालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्छ । अनुसन्धानको प्रक्रियालाई जुनसुकै पद प्रतिष्ठामा बसेकाहरू भए पनि प्रभावित गर्ने काम गर्नु हुँदैन’, बर्तौलाले भने, ‘जोडिएर आएका विषयहरूमा सम्बन्धित दलले पनि प्रस्ट पार्नुपर्छ ।’

सार्वजनिक उत्तरदायित्वको पदमा बसेपछि प्रश्न उठ्नु स्वभाविक भए पनि ती प्रश्नको समाधान गर्ने जिम्मेवारी सम्बन्धित व्यक्तिको बढी रहेको उनले बताए ।

‘त्यसैले यसलाई कानुनी हिसाबले न्याय निरूपणमा सहयोग गर्नुपर्ने पनि उत्तिकै जिम्मेवारी हुन्छ’, उनले यस विषयमा प्रमुख प्रतिपक्षले पनि जसरी विषय उठाइरहेको छ । यसका बारेमा नेकपा एमालेले गम्भीरताका साथ नजिकबाट नियालिरहेको पनि बताए ।

‘घटनामा दोषी देखिए प्रकृतिका आधारमा हुने सजायमा सबै भागीदार हुनुपर्छ’, उनले भने, ‘हामी विश्वासमा आधारित सहयात्रामा छौं, हाम्रो सहयात्रा राजनीतिक प्रकृतिबाट हो । तर यो भित्र कानुनले वर्जित गरेका कुनै पनि घटना, दोष या आरोपहरू छन् भने हामी स्वीकार गर्न सक्दैनौँ । ग्रहण पनि गर्दैनौँ ।’

उनले गृहमन्त्री वा सरकारमा लामिछाने भएका कारण राजनीतिक ढाकछोप हुन नहुने उनको भनाइ छ । ‘राजनीतिक आवरणमा ढाकछोप होला जस्तो लाग्दैन’, उनले भने, किनभने यो एकल होइन, कोलिसन सरकार हो । यस्ता विषयहरू अन्य ठाउँबाट पनि हेरिरहेको हुन्छ । मिडियाहरूले पनि धेरै विषयमा सत्यतथ्य बाहिर ल्याइदिन्छ ।

उनले सरकारमा भएका व्यक्तिको एकपछि अर्को स्क्याण्डलको विषय सार्वजनिक हुनुले सरकारको परफमेन्समाथि समेत असर पर्ने बताए । तर, कानुनी प्रश्न उठेपछि प्रमाणको भार बोकेर आफू निर्दोष भएको निष्कर्ष निकाल्ने जिम्मेवारी सम्बन्धित व्यक्तिकै हुन्छ । सरकारका जनतालाई प्रभावकारी रूपमा सर्भिस डेलिभरी गर्नतिर लाग्ने मन्त्रीहरूका बारेमा एकपछि अर्को स्क्याण्डल आइरहने कुराले समग्र पर्फमेन्समा असहजता सिर्जना गर्छ’, एमालेको भनाइ छ ।

(रातोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको