काठमाडौं, वैशाख ४ गते ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामाका लागि रणनीति बनाउने भएको छ । सहकारी घोटालामा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको कांग्रेसले अब उनको राजीनामालाई मुख्य मुद्दा बनाउने भएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दालाई अगाडि बढाउने बताएका छन् । अब यो संसदीय समिति – समितिको अगाडि जान्छ, यसले राजीनामासम्म पुग्छ, उनले भने।
सहकारी ठगीमा रवि लामिछाने निर्दोष भएको जवाफ दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब माफी माग्नुपर्ने भन्नेकुरा लेखकले बताए । ‘सहकारीबाट रित नपुर्याएर कर्जा लिएको भनिएको छ । त्यो कर्जा अहिलेसम्म पनि तिर्न बाँकी छ भनेको छ । प्रधानमन्त्रीले रवि लामिछाने निर्दोष छन् । कुनै प्रमाण छैन । प्रहरीसँग मैले कुरा गरिसकेँ भन्नुहुन्छ । त्यसैले यो समस्या अलि जटिल बन्दै गएको छ,’ उनले भने ।
त्यस्तै, प्रहरी अनुसन्धान प्रतिवेदनमा लामिछानेले सहकारीको रकम अपलन गरेको पुष्टि हुँदा प्रतिवाद नबनाइनु मजाकको हद भएको उनको भनाइ छ । ‘प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले यो–यो गर्यो भनेर सबै लेखेको छ । तर, प्रतिवादी बनाइएको छैन । त्यस्तो पनि हुन्छ । त्यही प्रहरी भन्दै छ— को रवि लामिछाने हो थाहा भएन ? यो भन्दा मजाक केहि हुन हुनसक्छ, “लेखक भन्छन्।
इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानुनी रुपमा दुई करोड रुपैयाँ लिएको उल्लेख छ ।
(रातोपाटि)