गौशालाको कान्तिबजारमा चैते दशैको कलश यात्रामा घुइचो


कान्तिबजार । महोतरीको गौशाला स्थित कान्तिबजारमा चैते दसैको पहिलो दिन कलश यात्रा निकालिएको छ । कान्तिबजारमा रहेको दुर्गा मन्दिरमा चैत शुक्ल अष्टमीमा मनाइने चैते दसैको पहिलो दिन मंगलबार कलश यात्रा निकालिएको हो ।
कान्तिबजारबाट सुरु भएको यात्रा एघारनम्बर, सातनम्बर, लक्ष्मिनिया हुदै रुपनीमा कलश भरी परडिया हुदै कान्तिबजार आएको थियो । बाजागाज सहित सुरु भएको यात्रामा २ हजार भन्दा बढी स्थानीय सहभागि भएका थिए ।
कान्तिबजारमा दुर्गा मन्दिर निर्माण भएपछि यहा वर्षेनि चैते दशै भव्यताका साथ मनाइदै आएको छ । कलश यात्रामा सभाागिहरुलाई स्थानीयहरुले जुश, पानी, सर्वत र अबिरले स्वागत गरेका थिए । गर्मीको समयमा खालिखुट्टा हिडने समस्या हुने भएर सडक पानीले भिजाइएको थियो । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसै हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुइ पटक मनाउने गर्दछन् । असोजमा मनाईंने दसैलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दसैलाई चैते दसै भनिन्छ ।
चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरूमा विशेष महत्त्व रहेको उल्लेख गरिएको छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।
संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख छ ।
चारवटै दशैंमा पूजा भने नवदूर्गाकै गर्ने गरिन्छ । नवरात्रको पहिलो दिन दशैंघरमा घटस्थापना गरेर जौ ९कतै मकै र धान पनि थप गरेर० छरिन्छ । आठ किसिमका अष्टमात्रिका पनि भिन्दाभिन्दै किसिमका हुन्छन् । धेरैले शैलपुत्र्यादी नवदूर्गाको बढी पूजा गर्छन् । यो चारैवटा दशैंमा पूजा हुने देवी स्वरूप हो । यी सबै पूजा तान्त्रिक विधिबाट गरिन्छ । ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्ष भनेको राति हो । यी सबै किसिमका दशैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको