
काठमाडौँ, चैत २३ गते ।
आयरल्याण्डसँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले ११४ रनले हार व्यहोरेको छ । योसँगै आयरल्यान्ड ए ले तीन खेलको शृङ्खलामा एक खेल अगावै जितेको छ ।
१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अलआउट भयो । नेपालका लागि भीम सार्कीले २१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रन बनाए । विनोद भण्डारी १९ बलमा २ चौका प्रहार गर्दै १६ रन बनाएर आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६ (६ रन)मा आउट भए ।
स्पिनर म्याथ्यु हम्फ्रेजले ४.५ ओभरमा ८ रन दिएर १ मेडनसहित ६ विकेट लिए । थोमस मेयर्स र फिन ह्यान्डले २(२) विकेट लिए ।
त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा १७४ रन बनाएर अलआउट भएको थियो ।
आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए । पिटर मुर १७ रनमा आउट भए ।
नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।
पहिलो खेलमा नेपाल ए ले २१ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनम अल आउट भएको थियो । उक्त खेलमा म्याथ्यु हम्फ्रेजले ६ विकेट लिएका थिए । आइतबार अन्तिम नेपाल ए र आयरल्यान्ड ए बीचको अन्तिम खेल हुनेछ ।
(onlinekhabar)