काठमाडौं, चैत २२ गते ।
माघमा रेमिट्यान्समा केही संकुचनका कारण स्थिर रहेको चालू खाता मौज्दात फागुनमा पुन बढेको छ । चालू आर्थिक वर्षको आठ महिना (साउन–फागुन)मा चालू खाता १ खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा चालू खाता ५५ अर्ब २८ करोड घाटा रहेको थियो । माघमा रेमिट्यान्स चालु आव लागेपछिकै कम १ खर्ब ६ अर्बमा सीमित भएपछि चालु खाता बचत पनि स्थिर भएको थियो । तर फागुनमा रेमिट्यान्स बढेर १ खर्ब २२ अर्ब पुग्दा चालु खाता र चालु खाता बचतमा पनि उल्लेख्य वृद्धि भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको ८ महिनामा खुद बचत ३ अर्ब नाघेको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको फागुनसम्मको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर बचत ३ खर्ब २७ अर्ब ५५ करोड पुगेको छ । गत आवको सोही अवधिमा १ खर्ब ४२ अर्बले बचतमा रहेको शोधनान्तर बचत चालु आवको सुरुवातदेखि नै उल्लेख्य रुपमा बढेको छ ।
त्यस्तै, आर्थिक वर्षको ८ महिनामा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले घटेर ३ अर्ब ८९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनमा खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोडले सकारात्मक रहेको उल्लेख छ । गत आवको ८ महिनामा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोडले धनात्मक रहेको छ ।
(onlinekhabar)