नेपाल ए आयरल्यान्डसँग पराजित


काठमाडौं, चैत २१ गते । 

कमजोर ब्याटिङका ​​कारण नेपाल ‘ए’ पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्याण्ड ‘ए’सँग २२ रनले पराजित भएको छ । १५८ रनको मामूली लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अलआउट भयो।

नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रन बनाए । देव खनाल २२ बलमा ४ चौका प्रहार गर्दै २६ रन बनाएर आउट भए । ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

छैटौं ओभरको पहिलो बलमा लियाम म्याकार्थीको बलमा सर्ट कभरमा देव केडबाट क्याच आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो । यसै ओभरको अन्तिम बलमा अर्जुन कुमाल थर्डम्यानमा ९ रनमा क्याच आउट भए ।

नेपालको सिनियर टोलीका प्रमुख ब्याट्सम्यान भीम सार्की अर्को ओभरमा शून्य रनमा आउट भए । सोही ओभरमा म्याथ्यु हम्फ्रेजले आरिफ शेखलाई शून्यमा विकेटकिपरबाट आउट गरेपछि नेपाल ७ ओभरमा ४१.४ को अवस्थामा पुगेको थयो । विनोद भण्डारी ९, अर्जुन साउद ४ र कमलसिंह ऐरी ६ रनमा आउट भएपछि नेपालले १२.१ ओभरमा ७८(७ रन बनाएको थियो ।

बसिर अहमद २१ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । साहब आउट भएपछि नेपाललाई जित्नलाई २३ रन चाहिँएको थियो । मौशम र रिजन ढकालको रन लिनेक्रममा तालमेल नमिलेपछि मौशम रन आउट भएका थिए । रिजन १२ रनमा नट आउट रहे ।

आयरल्यान्ड ए का म्याथ्यु हम्फ्रेजले १० ओभरमा ३ मेडनसहित ३२ रन खर्चेर ५ विकेट लिए । लियाम म्याकार्थी ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भएको थियो । आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । कप्तान निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित ३९ रन बनाए ।

ओपनर जेम्श म्याकुलम र स्टेफन डोहेनी १२-१२ रनमा आउट भए । पिटर मुरले २१ रन बनाए । नेपालका कमलसिंह ऐरीले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए ।

कमलले ३९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थीलाई डीप मिडविकेटमा साहबबाट २ रनमा क्याच, दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गर्दै ह्याट्रिक लिए । मौसम ढकाल र साहब आलमले २९२ तथा रिजन ढकालले १ विकेट लिए ।

दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । सिनियर टोलीसँगको दुई खेलको सिरिज आयरल्यान्डले २९० ले नै गुमाएको थियो । नेपाल ‘ए’सँगको तीन खेलको टी–२० सिरिज २–१ ले जितेको छ ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको