
काठमाडौं
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ गठबन्धनमा पार्टीले थप एउटा मन्त्रालय पाउने दाबी गरेका छन् ।
बुधबार पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्च कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा एकीकृत समाजवादी पार्टीले थप एउटा मन्त्रालय पाउने बताए ।
‘आ(आफ्नो संख्यामा आधारमा विभिन्न संख्यामा मन्त्रीहरू पठाइएका छन्। हाम्रो पार्टीले तीन मन्त्री पाउँछ । दुई जना पठाइसकेका छन् । समयमै अर्को पठाउने छौँ,’ उनले भने ।
गठबन्धनमा उनको पार्टीलाई दुईवटा मन्त्रालय दिने सहमति भएको थियो । जसअनुसार भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकास मन्त्री छन् ।
अध्यक्ष नेपालले प्रदेश सरकारको पुनर्गठन हुने र त्यहाँ पनि पार्टीले त्यही हिसाबमा मन्त्रीहरू पठाउने बताए। राजनीतिक नियुक्तिका लागि पनि आफ्ना मान्छे पठाइने उनले बताए ।
‘त्यस्ता ठाउँहरूमा जहाँ राजनीतिक नियुक्ति गर्नुपर्ने हुन्छ। त्यहाँ योग्य र सक्षम मान्छेहरू हाम्रा पनि छन् भने त्यसप्रति कुनै पूर्वाग्रह नराखी सकारात्मक सोच राखेर उनीहरूले पनि अवसर पाउनुपर्छ,’ उनले भने ।
अध्यक्ष नेपालले संयुक्त समाजवादी पार्टीले पठाएको मन्त्रीले राम्रो काम गर्नुपर्ने पनि बताए ।
सबैभन्दा पहिला हाम्रा मन्त्रीहरूको व्यवहार राम्रो हुनुपर्छ । सकेसम्म सेवा गर्नलाई प्राथमिकता दिनुपर्छ । जति गरे पनि सम्भव हुँदैन, पार नै लाग्दैन र कानुनी हिसाब तथा त्यहाँको परिवेशले गर्दा मिल्दैन भने मन्त्रीलाई दोष दिएर हुँदैन,’ उनले भने, ‘उसको सीमा हुन्छ। सबैको सीमा हुन्छ। कानुन मिचेर कसैले काम लगाउनुहुँदैन।’
नियम कानुन विधिअन्तर्गत बसेर इमानदारिताका साथ राम्रो काम गरेर एकीकृत समाजवादीले जनताको मन जित्नुपर्ने उनले बताए।
(setopati)