काठमाडौं, फागुन २६ गते ।
हङकङसँगको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल १६ दशमलव ४ ओभरमा मात्र १३९ रनमा सीमित भएको छ ।
नेपाललाई सस्तोमा समेट्न एइजाज खानले घातक बलिङ गर्दै ४ विकेट लिए । उनलाई एहसान खानले ३ विकेट लिँदै साथ थिए । अतिक इकबाल र नसरुल्लाह रानाले १–१ विकेट लिए ।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २२ बलमा ४२ रन बनाए । यस क्रममा उनले ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ३० र आरिफ शेखले ३८ रनको योगदान दिए । ३ विकेट गुमाएर ११७ रनको बलियो स्थितिमा रहेको नेपालले २२ रनमा बाँकी विकेट गुमाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो । बाबर हयातले शतक प्रहार गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दिए । उनले अन्तिम ओभरमा आकाश चन्दले आउट हुनुअघि मात्र ४९ बलमा ११० रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र १३ छक्का प्रहार गरे । एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए ।
यसअघि तेस्रो ओभरमा शून्य रन बनाएर कप्तान तथा ओपनर निजाकत खान आरिफ शेखको शिकार बनेका थिए । अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए । आकाश चन्दले आउट हुनुअघि उनले ५ चौका र १ छक्का प्रहार गरे । अन्सी राथले ३२ बलमा ३९ रन बनाएर प्रतिश जेसीको बलमा आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे । विकेट किपर रासिद खानको बलमा शून्य रनमा आउट भएका थिए ।
नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जेसी र रासिद खानले १र१ विकेट लिए ।
(रातोपाटी)











