जेब्राक्रस’ बनाउँदै ट्राफिक प्रहरी


कपिलवस्तु, फागुन १९ गते । 

मुलुक संघीय संरचनामा आएपछि स्थानीय तहमा केही परिवर्तन भएको अनुभूति भने देखिन थालेको छ् । बजार तीव्र गतिमा बढिरहेको छ । गाउँका कच्ची सडकहरू ग्राभेल बन्न थालेका छन्, शहरका ग्राभेल सडकहरू कालो बन्न थालेका छन्, साँघुरो सडकहरू फराकिलो बन्न थालेका छन् ।

यातायातका साधनको वृद्धिदर तीव्र गतिमा बढेको छ । पैदल हिड्नेले साइकल चलाउन थालेका छन् भने मोटरसाइकल चलाउनेले कारमा चढ्न थालेका छन् । जसले सवारी साधनको संख्या बढाएको छ ।

कपिलवस्तुका विभिन्न क्षेत्रमा तीव्र विकास र जनसङ्ख्याको अनियन्त्रित बृद्धिका कारण सवारीसाधनको चाप बढ्दै जाँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यससँगै सडकमा पैदलयात्रीका लागि जेब्रा क्रसिङ नहुँदा दुर्घटनाको जोखिम पनि बढेको छ । सडकमा सवारीसाधन तीव्र गतिमा गुडिरहेका छन् त्यसैले विभिन्न सडकमा जेब्रा क्रसिङ नहुँदा पैदलयात्रुलाई बाटो काट्न समस्या भएको छ । त्यसैले दुर्घटनाको जोखिम उच्च छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत जितपुर, गोरुसिंगे, चन्द्रौटा सडकखण्ड २४ सै घण्टा व्यस्त रहन्छ । व्यस्त सडकमा जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले यसका लागि पहल गर्न थालेको छ । दुर्घटनाको जोखिम बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिस भण्डारीले जेब्रा क्रसिङ निर्माणको जिम्मा नलिने भए पनि जोखिम न्यूनीकरणका लागि पहल थालेको बताए ।

ट्राफिक प्रहरीले बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गे (अर्घाखाँची चोक) मा पैदल यात्रुको सुविधाका लागि जेब्रा क्रसिङ बनाउने गरेको छ, भने अन्य पैदल यात्रुको बाहुल्य हुने स्थानमा पनि जेब्रा क्रसिङ बनाउने गरिने जनाएको छ । ‘पहिले बनेका केही जेब्रा क्रसिङको रङ फिक्का भइसकेको छ, फेरि रंग लगाइदिने र अन्य आवश्यक ठाउँमा जेब्रा क्रसिङ बनाउने छौँ’, प्रहरी निरीक्षक भण्डारीले बताए ।

सडकमा जेब्राक्रस बनाएर मात्र दुर्घटना पूर्णरुपमा नरोकिने बताउँदै सहायक प्रहरी निरीक्षक हुमनाथपौडेलले भने, “सवारी साधन र पैदलयात्रु दुवैले जेब्राक्रसको ख्याल गर्नुपर्छ ।” अधिकांश सवारी साधन र पैदलयात्रीले जेब्रा क्रसिङमा ध्यान नदिँदा सडक दुर्घटनाको जोखिम बढेको उनले बताए ।

‘दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सजग हुनुपर्छ,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘ट्राफिकले मात्रै ट्राफिक दुर्घटना घटाउन सक्दैन । हामी नियमित रूपमा सवारी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दैछौं। यसले सर्वसाधारणमा केही चेतना पनि बढेको छ ।”

बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले तीव्र गतिमा सवारी साधन चलाउँदा हुने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जेब्रा क्रस निर्माण गर्न नगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिए ।

नगरपालिकाको बुड्ढी र गोरुसिङ्गेमा ३ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । ओहोर दोहोर गर्ने मुख्य स्थान र विद्यालय नजिकको स्थानमा एक लाख रुपैयाँको लागतमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गमा अन्य पालिकासँगको सहकार्यमा जेब्रा क्रसिङ निर्माण गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

(सुशील गैरे)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको