विराटनगर जुट मिल्समा आगलागी


विराटनगर, फागुन ९ गते ।

बन्द रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ स्थित नेपालकै पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको छ ।

आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायब उपरीक्षक (एसपी) रञ्जनकुमार दाहालले जानकारी दिए ।

बन्द उद्योगमा आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन । आगजनी कसैले गरेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

‘आगलागी भएको ठाउँमा विद्युत सर्ट भएको सम्भावना नभएकाले कसैले आगो लगाएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘घटना शंकास्पद भएकाले दायरा फराकिलो बनाएर अनुसन्धान सुरु गरिएको छ ।’

बन्द जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्टमेन्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो । जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई पुराना मेसिनमा पनि क्षति पुगेको छ । सन् १९९३ मा स्थापना भएको विराटनगर जुट मिल्स  नेपालको पहिलो उद्योग हो। विराटनगर जुट मिल्स २०७८ माघदेखि बन्द छ। हालै सरकारले बन्द उद्योग खोल्न चासो देखाएपछि भारतीय व्यापारिक समूह बिडला ग्रुपले मिल्सको वस्तुस्थिति अवलोकन गरेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र विराटनगर महानगरपालिकाको दमकलको सहयोगमा बुधबार राति करिब १ बजे आगो नियन्त्रणमा आएको थियो ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको