काठमाडौँ, माघ ३ गते ।
देशमा लगानी गर्न सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता धेरै आउने गरेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा (साउन–पुुस) सम्म २ सय २६ उद्योगमध्ये सबैभन्दा बढी २ सय ११ वटा साना उद्योगमा लगानीको प्रतिबद्धता आएको छ ।
त्यसैगरी १२ वटा मझौला र कम्तीमा १२ वटा ठूला उद्योगमा वैदेशिक लगानी प्रतिबद्धता आएको छ । साना उद्योगमा साना लगानी गर्न सकिने धेरै प्रतिबद्धता रहेको विभागको भनाइ छ ।
साना उद्योगमा लगानी गर्नका लागि १० करोड रुपैयाँसम्म स्थिर पुँजी हुनुपर्ने छ । त्यसैगरी मझौला उद्योगको पूँजी १० करोडदेखि २५ करोड रुपैयाँ स्थिर पुुँजी हुुनुुपर्ने र ठूला उद्योगको स्थित पूँजी ५० करोडभन्दा माथि हुनुपर्छ ।
विभागका अनुसार साउनदेखि पुुस सम्म २२६ उद्योगमा २२ अर्ब ३३ करोड ६ लाख १७ हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जसमा सबैभन्दा बढी १०३ पर्यटन उद्योग, ८३ सेवा उद्योग, २३ उत्पादनमूलक , २३ सूचना प्रविधिमा आधारित उद्योग, ४ कृषिमा आधारित उद्योग, ४ पूर्वाधार उद्योग र २ खानी उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार पुस महिनामा मात्र २७ उद्योगमा १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ ।
विभागका अनुसार सुरुदेखि हालसम्म ६ हजार ८५ उद्योगमा ४ खर्ब ७२ अर्ब ३० करोड ५४ लाख ३८ हजार रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । ३० देखि ३५ प्रतिशतसम्म प्रतिबद्धताको लगानी भित्रिने गरेको पाइएको छ ।
श्रोत gorkhapatra









