राँझा(बाँके), पुस १६ गते ।
बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दू मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला सुरु भएको छ । हिन्दु र मुस्लिम समुदायले संयुक्त रुपमा आयोजना गरेको मेलामा भारतबाट हजारौंको संख्यामा दर्शनार्थी आउने गर्दछन् ।
डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झंकबहादुर थापले कम्मर शाह बाबाको मेलामा सबै धर्म मान्ने मानिस सहभागी हुने भएकाले यसको ऐतिहासिक महत्व रहेको बताउँनुहुन्छ । उहाँका अनुसार चार दिनसम्म चल्ने मेलामा हिन्दू, मुस्लिम लगायत सबै धर्म मान्ने मानिसले बाबाको दरबारमा पुगेर मनोकामना राख्छन् । यहाँ राखिएको मनोकामना पूरा हुने जनविश्वास छ ।
मेला भर्न बाँके र बर्दियाका सर्वसाधारणसँगै सीमावर्ती भारतीय क्षेत्रका बाबागञ्ज, नानपारा, श्रावस्तीका भारतीय नागरिक पनि आउने गरेको स्थानीय नेता राजेन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले हजरत बाबा कम्मर शाह मेला सामाजिक सद्भाव र आपसी एकताका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो । बाँकेको डुडुवा गाउँपालिका–५ कम्डीमा रहेको हजरत कमर शाह बाबाको मजार हिन्दू र मुस्लिम समुदायको आस्था र सद्भावको सम्पदा हो ।
डुडुवा गाउँपालिका–५ मा हिन्दू र मुस्लिम समुदायको बसोबास छ । त्यो ठाउँमा सयौं वर्षअघि कम्मर शाह बाबाले झुपडी बनाएर कामदीलगायत अन्य गाउँबाट गाईवस्तु चराउन आउने यादव समुदायसँग घुलमिल हुने गरेको स्थानीय नेता शकील अहमद खानले बताउनुभयो । यादव परिवारका कसैको स्वास्थ्यमा समस्या देखिए कम्मर शाह बाबाको शरणमा गएर सबै समस्या निको हुने विश्वास उनीहरुको छ ।
कम्मर शाह बाबाको दरबारमा हरेक वर्ष मुस्लिम, यादवलगायत विभिन्न समुदायका मानिसले चादर लगाएर भाकल गर्ने गरेको स्थानीयवासी खान बताउँछन् ।
मेलाको उद्घाटनमा पूर्वमन्त्री मोहम्मद इस्त्याक राई, लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल यादवलगायतले हजरत बाबा कम्मर शाह मेलाको महत्वबारे चर्चा गर्नुभएको थियो । यस वर्ष पनि मेलामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको मेला समितिका अध्यक्ष सगीर खानले जानकारी दिन्नुभयो । उहाँका अनुसार मेलामा नवदुर्गा युथ क्लबले आजदेखि डुडुवा गाउँस्तरीय नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हो ।
श्रोत रासस