फुङ्लिङ(रासस) , पुस ८ गते ।
पहिलो कञ्चनजङ्घा सेसेलुङ गोल्डकपको सेमिफाइनल खेल आजदेखि ताप्लेजुङमा हुँदैछ । सुनसरीले सगरमाथा युथ क्लब र पाँचथर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
शनिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सुनसरीको सगरमाथा युथ क्लबले बीटी फुटबल क्लब तेह्रथुमलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सुनसरीको जितमा विशाल भण्डारीले पहिलो हाफको २४ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा एक गोल गरेपछि सुनसरीले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । भुवन बस्नेतले दोस्रो हाफको चौथो मिनेट र २३ औं मिनेटमा गोल गरेका थिए भने ३१ औं मिनेटमा वीरेन्द्र लिम्बुले अन्तिम गोल गरेका थिए । सुनसरीले व्यापक जित दर्ता गरेको छ ।
फाइनल प्रवेशका लागि आइतबार पाँचथर फुटबल क्लबसँग प्रतिस्पर्धा हुनेछ । शनिबार भएको खेलमा सुनसरीका भुवन बस्नेत म्यान अफ दि म्याच घोषित भई ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । खेल जनवरी ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । खेलका संयोजक दिनेश लिंकहिमले प्रथम हुनेले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु तीन लाख दुई हजार ८० र उपविजेताले रु एक लाख ५१ हजार ८० प्राप्त गर्ने जानकारी दिए । चासोक ताङ्नामको अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो ।











