काठमाडौँ(रासस), पुस ५ गते ।
प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गरेको छ ।
काठमाडौंको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम टिमको कप्तान रितु कनौजियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । निर्धारित २० ओभरको खेलमा सुदूरपश्चिमले ९ विकेट गुमाएर ८७ रन बनायो । एपीएफले १७ औं ओभरको पहिलो बलमा मात्र एक विकेट गुमाएर ८८ रनको जित हासिल गरेको हो ।
एपीएफका लागि ज्योति पाण्डेले अविजित ४९ र इन्दु बर्माले अविजित ३१ रन बनाएकी थिइन् । पाण्डेले ४८ बल खेल्दै ९ चौका प्रहार गरे । बर्माले ४४ बलको सामना गर्दै चार चौका प्रहार गरे । बलिङतर्फ सुदूरपश्चिमकी ईश्वरी विष्टले एक विकेट लिइन् ।
यसअघि ब्याटिङ गर्दा सुदूरपश्चिमका लागि कविता जोशीले २२ रन र जक्जन खड्काले १२ रन जोडिन् । यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ एपीएफका लागि सोनु खड्काले दुई तथा सुमन बिष्ट, करुणा भण्डारी र इन्दु बर्माले एक–एक विकेट लिइन् ।











