नवलपरासी (रासस), मङ्सिर २६ गते।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तुपा क्षेत्रको विकासका लागि गुरुयोजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले पश्चिम नवलपरासीको रामग्राम स्तुपास्थित आइ स्तुपा क्षेत्रको जीर्णोद्धार, संरक्षण र विकासका लागि दूरदर्शी काम गरिने बताउनुभएको छ । उनले यस क्षेत्रको विकासका लागि रामग्राम स्तुपा निकै महत्वपूर्ण रहेको बताउँदै रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहाल नवलपरासीमा शान्तिका अग्रदूत गौतम बुद्धको आराधनास्थल रहेको ऐतिहासिक तथा धार्मिकस्थल रामग्राम स्तुपामा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउनुभएको हो । लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र प्रतिज्ञा ल्यान्ड नामक संस्थाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले रामग्राम स्तुपा क्षेत्रको महत्वबारे चर्चा गर्नुभयो।











