कटारी (उदयपुर), मङ्सिर १९ गते।
रासस
कटारी नगरपालिका–३ हदैयाको सिद्धिचरण लोकमार्ग अन्तर्गत हदैया नदीमा निर्माणाधीन पक्की पुल दोस्रो पटक भत्कन थालेको छ ।
हदैया खोलामा निर्माण भइरहेको ६० मिटर लामो पुलको पश्चिमतर्फको ‘जोइन्ट’बाट पुल भत्किन थालेको स्थानीय मानबहादुर तामाङले बताउनुभयो । यो पुल निर्माण सुरु भएको आठ वर्ष भइसकेको छ । यसअघि २०७५ मा यो पुलको दुईवटा स्ल्याबमध्ये एउटा भत्किएको थियो ।
सडक डिभिजन कार्यालय सिरहा, लहानका इन्जिनियर सञ्जीव दासले राम्रो जडान नहुँदा भत्कन थालेको बताउनुभयो। निर्माण कम्पनीले कम गुणस्तरको सामाग्री प्रयोग गरी पुल पटक पटक भत्किन थालेको स्थानीय बासिन्दाको आरोप छ ।
राजेन्द्र जगदम्बा गल्या जेभी कन्स्ट्रक्सन कम्पनी प्रालिले पुल निर्माण सुरु गरेको हो । पटकपटक म्याद थप्दा पनि पुल निर्माणको काम पूरा हुन सकेको छैन ।
सडक विभागको ८७९ लाख २८ हजार रुपैयाँको लागतमा पुल निर्माण सुरु भएको हो । ।‘निर्माणाधीन पुल भत्किँदा जोखिम बढेको छ’, स्थानीय प्रकाश पाख्रिनले भने, ‘सुरुदेखि नै गुणस्तरहीन काम भए पनि जतिसुकै गुनासो गरे पनि सुनुवाइ भएन । ू
इन्जिनियर दासका अनुसार पुल निर्माणको काम अहिले ८ प्रतिशत मात्रै बाँकी छ भने ठेकेदार कम्पनीले २० प्रतिशत भक्तानी लैजान बाँकी छ । लामो समयदेखि रोकिएको पुल निर्माण अधुरो र गुणस्तरहीन भएको भन्दै ठेक्का खारेज गर्न स्थानीयले माग गरेका छन्











