काठमाडौँ (रासस), मङ्सिर १६ गते।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा ५७ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब ३५ अर्ब २४ करोड रुपैयाँ बराबर रहेको सार्वजनिक ऋण असोज मसान्तसम्म २३ खर्ब ५७ अर्ब ६ अर्ब रुपैयाँ नाघेको छ ।
कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रू ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ ।
चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रू ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा रू १६ अर्ब १८ करोड ६१ लाख बराबर भुक्तानी गरेको देखिएको छ ।
यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र रू १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कूल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको छ ।
चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ । गत कात्तिक मसान्तसम्ममा सरकारले रू २९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजीगत खर्च गरेको छ । यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने रू ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको छ ।









