डुम्रे (तनहुँ), मङ्सिर १० गते।
तनहुँको भानु नगरपालिका–४ र ५ जोड्ने गरी चुँदी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ। लामो समयदेखि स्थानीय बासिन्दाले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो।
उक्त पुलको लम्बाइ ७४ मिटर रहेको पञ्चनगर माझडिही झोलुङ्गे पुल उपभोक्ता समितिका सल्लाहकार जयहरि ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त पुल बनेपछि दुई वडाका तीन हजार तीन सय ३० स्थानीयवासी लाभान्वित भएका छन्।
सङ्घीय सरकारको रु ५९ लाख ८५ हजार छ सय छ र भानु नगरपालिकाको रु तीन लाख ५९ हजार एक सय ३६ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको उक्त समितिका समितिका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिनुभयो।
उक्त पुल निर्माणका लागि विसं २०७७ असार ३१ मा सम्झौता गरिएकामा साउन १ गतेदेखि निर्माण कार्य सुरु भएरं २०७९ चैत १५ गते सम्पन्न भएको थियो। स्थानीय राजेश कार्कीले पुल नहुँदा अर्को वडामा पुग्न घुमाउरो बाटो पार गर्नुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो। उहाँले भन्नुभयो, “झोलुङ्गे पुल बनेपछि बाटो छोटिएको छ। घुमाउरो बाटो जानुपथ्र्यो। अब सजिलो भएको छ। खोला बढेकै अवस्थामा भोग्नुपर्ने सास्ती हट्यो।”
उक्त पुल आज सांसद एवं पूर्वमन्त्री शङ्कर भण्डारीले उद्घाटन गर्दै स्थानीयवासीलाई सहजरुपले सुबिधा उपलब्ध गराउन आफूहरु प्रतिबद्ध रहेका बताउनुभयो। उहाँले भन्नुभयो, “सबै आवश्यकता एकैपटकमा समाधान हुँदैन। आवश्यकताको प्रकृतिअनुसार क्रमशः पूरा हुन्छ।”
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले योजनाको प्राथमिकताका आधारमा विकास गरिँदै लगिनेमा जोड दिनुभएको थियो।



















