भूकम्प अपडेट : प्रभावित क्षेत्रमा प्रस्थान चिकित्सकको टोली


दाङ, कात्तिक १८ गते।

लुम्बिनी प्रदेश सरकारले भूकम्पबाट प्रभावित रुकुम र जाजरकोट पश्चिमका लागि २५ जना चिकित्सकको टोली प्रभावित क्षेत्रमा पठाएको छ। भूकम्पबाट घाइते भएकाहरुको उपचारका लागि दुई प्रादेशिक अस्पतालबाट २५ जना चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेसु डा पदमराज अधिकारीको नेतृत्वमा २० चिकित्सक, औषधि र उपचार सामग्रीसहित प्रभावित जिल्लातर्फ प्रस्थान गरिसकेको प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रादेशिक अस्पताल बुटवलका एमडी जिपी डा सुनिल सुनारको नेतृत्वमा पाँचजनाको टोली औैषधी तथा उपचार सामग्रीसहित प्रस्थान गरेको छ।

मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँगको समन्वयमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको बताउनुभयो।

प्रदेशका सरकारका तर्फबाट प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयको नेतृत्वमा उद्धार टोली प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ। यसअघि आज बिहान दाङबाट भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा उपचारका लागि सशस्त्र प्रहरीको एक टोली पश्चिम रुकुमका लागि प्रस्थान गरिसकेको छ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार सशस्त्र प्रहरीका १७ जनाको उद्धार टोली त्यसतर्फ पठाइएको हो। भूकम्पपीडितहरुका लागि जिल्लाबाट खाद्यान्नलगायत सामग्री आज नै पठाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो।

गएराति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमा ठूलो धनजनको क्षति भएको छ।

यसैबीच, दाङ पनि भूकम्प ठूलो झड्का महसुस गरिएको थियो। मध्यरातमा भूकम्प आएपछि यहाँका नागरिकहरु धेरै सङ्ख्यामा घरबाहिर निस्केका थिए। भूकम्पबाट जिल्लामा कुनै ठुलो क्षति नभए पनि बङ्गलाचुली गाउँपालिका केही घरमा सामान्य क्षति भएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको