हुम्ला, असोज २७ गते।
वडादसैँ नजिकिदै गर्दा सिमकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ। नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो।
सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आउनुभएकी पवित्रा परियारले नेपालगञ्ज जाने टिकट नपाएर यही बस्नु परेको बताउनुभयो। उहाँले ११ दिनदेखि नेपालगञ्ज जाने टिकट पाउन नसकेको गुनासो गर्नुभयो। दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि टिकट सकिएको जवाफमात्र पाउने गरेको उहाँको भनाइ थियो।
यहाँबाट नेपालगञ्जका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ। सीता, तारा र नेपाल एयरलाइन्सले हप्तामा एकदेखि चार उडान मात्र भर्ने गरेका छन्।
राष्ट्रपति रनिङशिल्ड बालमन्दिर माविलाई
हुम्लाको सिमकोटमा भएको गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बालमन्दिर माविले स्वर्णपदकसहित विजेता भएको छ । बालमन्दिरले १३ स्वर्ण, आठ रजत र २३ कास्यपदक जित्दै कूल ९३ अङ्क प्राप्त गरी प्रथम भएको हो।
मानसरोवर माविले १० स्वर्णसहित ९७ अङ्कका साथ द्वितीय भएको छ भने कैलाश माविले एक स्वर्णसहित प्रतियोगितामा तृतीय भएको छ।
आयोजक कर्णाली माविका प्रधानाध्यापक रामराज शाहीले भलिबलमा छात्रातर्फ मानसरोवर मावि प्रथम भएको छ भने बालमन्दिर मावि द्वितीय र रामदेव मावि तृतीय भएको जानकारी दिनुभयो। उहाँका अनुसार भलिबलतर्फ छात्रको प्रतियोगितामा बालमन्दिर मावि पहिलो, कर्णाली मावि द्वितीया र मानसरोवर मावि तृतीय भएका छन्।
गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल र उपाध्यक्ष सुशीला रोकाया भामले विजेता छात्रछात्रालाई पदक, प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो। पाँच दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सिमकोटका सात माविको सहभागिता थियो।



















