झोलुङ्गे पुल बनेसँगै आवागमन सहज


बेनी ( म्याग्दी ), असोज २४ गते।

म्याग्दीको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि बनेको पटेरनीघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। रू ५९ लाख नौ हजार तीन सय ६५ लागतमा एक सय १४ मिटर लामो पुल निर्माण भएसँगै म्याग्दी नदी वारि र पारिका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ।

विसं २०७८ असोजदेखि निर्माण सुरु भएको उक्त पुल यही असोज २१ गते सम्पन्न भएपछि मङ्गलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। नवनिर्मित पुलको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा उहाँले विकास निर्माणका पूर्वाधारले स्थानीयवासीको दैनिकीमा सहयोग पुग्ने बताउनुभयो।

मालिका गाउँपालिका झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम ९स्वाप०को आर्थिक सहयोग, टिविएसयु र पिटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीयवासीको श्रमदानमा उक्त पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लले जानकारी दिनुभयो। पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने भएको उहाँको भनाइ थियो।

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति केबी भण्डारी र सचिव भरत रकाल, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा नं १ का वडाध्यक्ष टङ्कप्रसाद पुन, वडा नं ६ का वडाध्यक्ष पथबहादुर रोका, पिटिएपी पोखराका प्राविधिक अधिकृत दयाराम शाह, मिलनका प्राविधिक यामबहादुर विकलगायतले पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत तथा सामान ढुवानी गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको