बेनी ( म्याग्दी ), असोज २४ गते।
म्याग्दीको जिल्लाको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि पटेरनीघाट झोलुङ्गे पुल निर्माण भएको छ। रु ५९ लाख नौ हजार तीन सय ६५को लागतमा एक सय १४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी नदी वारि र पारिका बासिन्दालाई आवतजावतमा सहज भएको छ। विसं २०७८ असोजदेखि सरु भएको पुल निर्माणको काम २०८० असोज २१ गते सम्पन्न भएको थियो।
मङ्गलबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्दै विकास निर्माणका पूर्वाधारले स्थानीयवासीको दैनिक जीवनमा सहयोग पुग्ने बताउनुभयो।
क्षेत्रगत कार्यक्रम ९स्वाप०को आर्थिक सहयोग, टिविएसयु र पिटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीयवासीको श्रमदानमा झोलुङ्गे पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लले जानकारी दिनुभयो। पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने भएको छ।









