शुक्लागण्डकीमा शीतभण्डार निर्माण


तनहुँ, असोज १५ गते।
जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ लालिममा एक सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिएको छ।
नगरपालिकाको आन्तरिक स्रोतबाट रु तीन करोडको लगानीमा उक्त शीतभण्डार निर्माण गरिएको हो। उक्त नगरपालिकाको वडा नं ८ आलु र वडा नं ११ सुन्तला खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास गरिएको छ।
नगरपालिकाले आलु र सुन्तला खेतीलाई मध्यनजर गर्दै करिब पाँच रोपनी सार्वजनिक जग्गामा शीतभण्डार निर्माण गरेको इञ्जिनियर तारापति भट्टराईले जानकारी दिनुभयो। शीतभण्डार बनेसँगै यहाँका कृषकले उत्पादन गरेका कृषिउपज स्टोरका लागि पोखरा लैजानुपर्ने बाध्यता हट्ने भएको छ।
“भवन निर्माण सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले सञ्चालन प्रक्रिया रोकिएको हो, असोज मसान्तदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ। उत्पादन भएका आलु र सुन्तला स्टोर गर्न नपाएर सस्तोमा बिक्री गर्नुपर्दा कृषक मर्कामा पर्ने गरेका थिए।”
उचित समयमा उत्पादित बस्तु बिक्रीका लागि कृषकलाई प्रतिकिलोग्राम रु सातका दरले शुल्क लिने योजना नगरपालिकाले बनाएको नगरप्रमुख कृष्णराज पण्डितले बताउनुभयो।
त्यसैगरी व्यास नगरपालिका कार्यालयले चालु आवदेखि चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण गरिरहेको छ। वडा नं ११ स्थित गैह्रबारीमा निर्माणाधीन चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा पुगेकोे जनाइएको छ।
चिस्यान केन्द्र अन्तिम चरणमा पुगेसँगै जिल्लाका व्यावसायिक कृषक उत्साहित भएर कृषि क्षेत्रमा लाग्न थालेको योजना कार्यान्वयन तथा अनुगमन उपशाखाका अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो।
गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा करिब तीन रोपनी जमिनमा रु एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा एक सय ३० मेट्रिकटन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको