रोशन कुमार महतो
बर्दिवास, असोज ३ गते ।
बर्दिवास नगरपालिकाले संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । नगरपालिका कार्यालयदेखि बर्दिवास बजारको म’ख्य चौक हुदै सिन्धुलरोडसम्म प्रभातफेरी गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख, उपप्रमुखलगायत कर्मचारीको सहभागिता रहेको थियो ।
संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघ–संस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते संसदबाट ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।
संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
यस दिवसको अवसरमा बर्दिवास नगरपालिकाले विद्यालयमा वृक्षारोपन कार्यक्रम, रक्तदान कार्यक्रम र फुटवल कार्यक्रम गरी विभिन्न कार्यक्रम मनाउने नगर प्रमुखको सचिवालयले बताए ।
प्रभात फेरी कार्यक्रमको सम्बोधन गदै बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले यस दिवसको अवसरमा सम्पूर्ण नगरवासिलाई शुभकामना दिनुभयो । वहाँले भन्नु भयो ,“
इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको थियो ।
हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको यस नेपालको संविधान २०७२ वास्तवमै फलदायी अनि शुभ सावित भएको हामिसबैलेमहसुस गरेका छौ । यस शुभ अवसरमा बर्दिबास नगरपालिका लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सहिदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर र समृद्ध नेपालको सपनालाई साकार पार्न हामी सबैलाई यस अवसरमा प्रेरणा मिलोस् भन्ने शुभकामना दिनु भयो । ”