धानमा फड्के किराको प्रकोपले किसान चिन्तित


काठमाडौँ, असोज २ गते ।
दाङको राप्ती गाउँपालिका–५ कालापानीका  अमर पौडेलले  रोप्नु भएको साँवा मन्सुली  धानका बोट सबै सुकेर पराल बनेको छ । पराल पनि गाईबस्तुलाई खुवाउन नमिल्ने भएको छ । फड्के  किराले असर गरेको छ ।
रोपेको करिब सय दिनसम्म राम्रै रहेको धानका केही बोटमा भदौको मध्य सातातिर किराले असर गर्न थाल्यो । अचानक धानका बोट सुकेर पहेँलो हुन थालेपछि उहाँले स्थानीय एग्रोभेटमा सम्पर्क गर्नुभयो । त्यहाँबाट समस्या समाधान नहुने  नभएपछि गाउँपालिकाको कृषि शाखालाई समस्याबारे जानकारी गराउनुभयो ।
पालिकाबाट कृषि प्राविधिकले समस्याबारे जानकारी लिएपछि उनीहरूको को सल्लाह  सुझावअनुसार विषादी छर्के पनि धान मर्ने क्रम रोकिएन । “सुरुमा थोरै बोटमा समस्या  देखियो, के भएको रहेछ भनेर स्थानीय एग्रोभेटमा कुरा राखेँ  । यो ठाउँमा पहिलो पटक यस प्रकारको समस्या देखिएकाले पनि यही भएको हो भन्ने करा सुरुमा पत्ता लागेन ।
पछि पालिकाको कृषि शाखामा सम्पर्क गरेर धानमा भएको समस्याका बारेमा जानकारी गराएँ”, पौडेलले भन्नुभयो, “पालिकाका कृषि प्राविधिकले स्थलगत अध्ययन अनुगमन गरेर अवस्थाबारे जानकारी लिनुभयो ।
सिफारिस अनुसारको विषादी छर्के पनि काम गरेन । औषधि जहाँ छ¥यो त्यहाँका किरा मर्छ तर किरा फेरि बाँचेर अरू ठाउँमा असर गरिरहेको छ ।” करिब पाँच कट्ठा खेतमा  रोपेको धान सुकेर पराल बनेको छ । “अहिलेसम्म धान खेतमा यस्तो समस्या भएको थिएन । यो पटक धानको बोट राम्रो थियो फल राम्रो  लाग्ला भन्ने समयमा खै के भयो यस्तो बिजोग बनायो । वर्षभरि खाने धान सखाप भयो”, उहाँले भन्नुभयो ।
कृषक पौडेलको  धान खेतमा समस्या देखिएको जानकारी पाएपछि पालिकाले कृषि प्राविधिक पठाएर समस्या पहिचान गदै फड्के किराले असर गरेको पुष्टि गरेको थियो । अनुसन्धान गर्दा फड्के किरा अर्थात् राइस होपरको प्रकोप पुष्टि भएको कृषि शाखा प्रमुख सीमा भट्टले बताउनुभयो ।
उहाँका अनुसार उक्त गाउँपालिका–१, २, ५, ७ का वडामा फड्के किराको प्रकोप देखापरेकाले किसानलाई धान बाली भित्र्याउने बेलामा चिन्ता बढेको छ । धानका बोट धमाधम पहेँलो हुन थालेपछि पालिकाले के भएको हो भन्ने बारेमा बुझेर प्रकोप नियन्त्रणका लागि विषादी सिफारिस गरी थप प्रकोप नियन्त्रण गर्ने काम गरिरहेको कृषि शाखा प्रमुख भट्टले  बताउनुभयो ।
वडा नं ७ का कालीराम चौधरीले आफूले रोपेको धानमा पनि फड्के किराको समस्या देखापरेको बताउनुभयो । केही दिनसम्म राम्रो रहेको धानमा अहिले फड्के किराले असर गर्दै लगेको उहाँले उल्लेख गर्नुभयो । सुरुमा धानको बोटमा तल्लो भागका पातहरु र पछि माथिल्ला पातहरुसमेत पहेँलिँदै जाने गरेको चौधरीको भनाइ थियो । फड्के किराको आक्रमणका कारण हालसम्म राप्तीमा करिब १५ बिघाभन्दा बढी क्षेत्रको धान बाली पहेँलो भएर सुक्न थालेको किसानको गुनासो छ ।
कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिकाका विभिन्न वडामा देखापरेको फड्के किराको प्रकोप जिल्लामा पहिलो पटक देखापरेको जनाएको छ । यसअघि यस प्रकारको कुनै समस्या नदेखिएको हुँदा त्यहाँको अवस्थाबारे स्थलगत अध्ययन गरेर मात्रै जानकारी गराउने केन्द्रका प्रमुख नरेश धितालले बताउनुभयो ।
फड्के किरा धान बाली पसाउने बेलामा बढी मात्रामा देखापर्ने हुँदा कृषकले अबका दिनमा बढी सावधानी अपनाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो । देउखुरी क्षेत्रमा करिब साढे १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा सबैभन्दा बढी धान खेती राप्ती गाउँपालिकामा हुने गरेको छ ।  रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको