बैतडी, भदौ १३ गते ।
विषालु सर्पले डस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल हुन्।
मंगलबार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र बुधबार बिहान १ बजेतिर मुत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए।
सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको झारफुक गर्दागर्दै मृत्यु भएको हो। “सर्पले टोकेलगत्तै अस्पताल लैजानुको साटो वैद्यलाई बोलाएर झारफुक गर्नको पछि लाग्नुभएछ।”
स्वास्थ्यचौकी इञ्चार्ज सार्कीले भने, “ हामीलाई भर्खर मात्रै थाहा भयो। सर्पले टोकेपछि झारफुकको साटो अस्पताल लगेको भए ती महिलाले अकालमै ज्यान गुमाउनु पर्दैन्थ्यो होला।”
प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
जिल्ला अस्पताल बैतडीमा सर्पदंशको उपचार हुने भए पनि अस्पताल नल्याउँदा सर्पले टोकेकाहरु अकालमै ज्यान गुमाउन बाध्य भएका छन्।
सर्पले टोकीहालेमा वैद्य कहाँ जाने प्रचलनले जटीलता निम्त्याएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद बताउँछन्। पञ्चेश्वरमा मात्रै सर्पको टोकाइबाट यो वर्ष तीन जनाको ज्यान गइसकेको छ।
यसअघि साउन अन्तिम साता पञ्चेश्वर–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको र गत वैशाख तेस्रो हप्ता पञ्चेश्वर गाउँपालिका २ डाँगाटोलकी २५ वर्षीया निर्मला लुहारको सर्पले टोक्दा मृत्यु भएको थियो।