सर्लाही, साउन २० गते ।
सर्लाही सदरमुकाम मलंगवामा रहेको श्रीमती कृष्णदेवी माविमा एक युवकको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–९ स्थित श्रीमती कृष्णदेवी माविको प्रांगणमा आइतबार बिहान युवकको शव फेला परेको हो।
करिब २२ वर्षीय युवकको शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।
आइतबार बिहान स्थानीयले विद्यालयको बरण्डामा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले केही बेरअघि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको छ।
युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











