काठमाडौं, असार २६ गते ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेकपा एमाले ०८४ को निर्वाचनमा एक्लै बहुमत ल्याउने मिसनमा लागेको बताएका छन्। उनले आफ्नो पार्टी अहिले सरकारमा जाने कुनै मनसाय नरहेको उल्लेख गरे ।
कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रस्ट्याएका हुन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौँ बैठकमा बोल्दै उनले आफ्नो पार्टी सरकार बनाउने, जोगाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताए। ओलीले सरकार र सत्तारूढ दलहरूले झुट बोल्नबाहेक केही पनि काम गर्न नसकेको आरोपसमेत लगाए ।
अध्यक्ष ओलीले संविधान र कानुनबमोजिम रद्द भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झुट कुरा गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।
उनले सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएकोसमेत बताए । ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।









